नक्कली नोटको बिगबिगी बढ्दै, धनगढीबाट तीन जना रंगेहात पक्राउ

२१ जेष्ठ २०७९, शनिबार २२:४६

काठमाडौं । मुलुक गम्भिर आर्थिक संकटतर्फ उन्मुख हुँदै गर्दा देशका विभिन्न ठाउँहरुमा नक्कली नोटको बिगबिगी समेत बढेको छ । यसैक्रममा सुदुरपश्चिमको धनगढीबाट अवैध नक्कली नेपाली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट एक हजार दरका ३८ थान नक्कली नेपाली नोटसहित तीन जनालाई शुक्रबार राति पक्राउ गरेसँगै नेपाली बजारमा नक्कली नोट छ्यापछ्याप्ती फैलिएको पुष्टि भएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको जस्तै नक्कली नोट कारोबारमा संलग्न धनगढी उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सोही उपनगरपालिका–२ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनगढीका अनुसार, उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोटसहित रंगेहात पक्राउ गरेको थियो ।

थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।

केही बैंकहरुका धनगढीस्थित शाखा कार्यालयले भने नक्कली नोट भित्राउने मुख्य योजनाकार खोज्न प्रहरी असफल भएको आरोप लगाएका छन् ।

फाइल तस्विर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*