हिमालयन हाइड्रोपावरलाई शेयर बेच्नै गाह्रो, पुनः दोस्रो पटक थपियो आवेदन म्याद

१६ जेष्ठ २०७९, सोमबार ०९:३९

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आइपीओमा आईपीओमा आवेदन दिने म्याद पुनः थप गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा म्याद थप गरी जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेकोमा पुनः म्याद थप गरेको हो । सो आईपीओमा अब जेठ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत शेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*