विवादित हिमालयन रि मा अर्थमन्त्री शर्माका ज्वाई म्यानेजर पदमा कार्यरत

१३ जेष्ठ २०७९, शुक्रबार १७:३५

काठमाडौं । घुस सेटिङका कारण विवादमा पर्दै आएको र आगामी दिनमा सञ्चालन अनुमति निरन्तर पाउने नपाउने एकिन नभएको हिमालयन रि नामक पुनर्बीमा कम्पनीमा बहालवाला अर्थमन्त्री जनार्दन शर्माका ज्वाई आलोक प्रताप राणा कार्यरत रहेको भेटिएको छ ।

यद्यपि राणाले आफ्ना ससुरा अर्थमन्त्री बन्नु अघि नै हिमालयन रि इन्स्योरेन्स कम्पनीमा जागिर खाइसकेको आज प्रकाशित आर्थिक दैनिकलाई लेखेको पत्रमा उल्लेख छ । २०६४ सालमा चितवनबाट एसएलसी पास गरी अमेरिकाबाट ३.८८ जिपिए ल्याएर एमबिए उत्तिर्ण गरेकोले व्यक्तिगत क्षमताको आधारमा हिमालयन रिमा जागिर खाएको राणाले पत्रमा उल्लेख गरेका छन् ।

अर्थमन्त्रीका ज्वाई राणाले आफू हिमालयन रि इन्स्योरेन्स कम्पनीमा स्थापनाकालदेखि नै सक्रिय भएर काम गरेको र अहिले पनि दैनिक १०ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म काम गर्ने उल्लेख गरेका छन् । बीमा समिति स्रोतका अनुसार हिमालयन रिले लाईसेन्स पाउने प्रक्रियादेखि नै राणा बीमा समितिमा धेरै पटक आएका थिए ।

हिमालयन रि इन्स्योरेन्स कम्पनी अहिलेको सरकारले गरेको सबैभन्दा ठूलो घोटाला काण्ड हो । बार्षिक छ अर्ब रुपैयाँ आम्दानी गराउने निर्णय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सेटिङमा गरेपछि अहिले चारैतिर हिमालयन रिकै चर्चाको विषय बनिरहेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आफू भ्रष्टाचारको अभियोगमा जेल जाने सम्भावना हुँदा हुँदै त्यहाँ कार्यरत कर्मचारीहरु तथा सञ्चालकहरुलाई समेत फसाएर र अर्थमन्त्री जनार्दन शर्मालाई समेत फसाउने गरी हिमालयन रिलाई अर्बौको आम्दानी गराएका छन् । यस्ता विवादित र घुस सेटिङमा चलेको कम्पनीमा अर्थमन्त्रीका ज्वाई भेटिएपछि उज्यालोका नायक भनेर चिनिएका अर्थमन्त्री शर्मालाई थप दवाव पर्ने देखिएको छ ।

बीमा समितिले बीमाको सामान्य मूल्य, मान्यता र सिद्धान्त समेतलाई वेवास्ता गर्दै पुनर्बीमा व्यवसायलाई स्थानीयकरण गर्ने सम्बन्धी निर्णय गत बैशाख २८ गते गरेको थियो । सो निर्णयबाट हिमालयन रिलाई बार्षिक तीन अर्बभन्दा बढि आम्दानी हुन सुरु भइसकेको छ । त्यस्तै जेठ ५ गतेको निर्णयबाट सरकारी कम्पनी नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको बार्षिक साढे तीन अर्बभन्दा बढि व्यवसाय हिमालयन रिले पाउने भएको छ । दुई निर्णयबाट कूल साढे छ अर्ब फाइदा भएको हिमालयन रिमा अर्थमन्त्री शर्माको कनेक्सनको कुरा बाहिर आएपछि राजनीतिक र प्रशासनिक वृत्तमा अर्थमन्त्री शर्माको इज्जत दिनदिनै खस्किदै गएको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी प्रमाणित गरेको व्यक्ति तथा कोरोना महामारीको समयमा थर्मल गन तस्करीमा रंगेहात पक्राउ परेका व्यक्तिहरु तथा समुहहरुले सञ्चालन गरेको विवादित कम्पनी हो । हिमलायन रि इन्स्योरेन्स कम्पनीमा सिईओ समेत एक भारतीय पुनर्बीमा कम्पनीमा एजेन्टको रुपमा लामो समय काम गरेका व्यक्ति कार्यरत छन् । यस्तो विवादित र घृणित सेटिङ गर्ने हिमालयन रि इन्स्योरेन्स कम्पनीमा इमान्दार र मेहनती व्यक्तिले काम गर्नु हुन्छ कि हुँदैन बहसको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*