बालेन साहको चुनाव यात्रा: यसरी मागेका थिए भोट

मनिष सोती
११ जेष्ठ २०७९, बुधबार १६:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित पक्कापक्की भइसकेको छ । महानगरमा कुल ३२ वटा वडा मध्ये उनले २७ वटा वडाको मतगणनामा अग्रता लिई ५५ हजार मत कटाईसकेका छन् ।

अब ५ वटा वडाको मात्रै मतगणना बाँकी छ । बालेनले ५५ हजार मत कटाउँदा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार मत कटाएका छन् । ५ वटा वडाको मतगणनामा बालेनको भोट जे जति आएपनि उनको जित पक्कापक्की छ । किनभने उनको मत र निकटम् प्रतिद्धन्दीको मतको अन्तरभन्दा गणना हुन बाँकी मत कम छ । त्यसैले बालेन साह मेयरमा बिजयी भइसकेका छन् । प्राविधिक रुपमा घोषणा गर्न मात्रै बाँकी छ ।

आजमात्रै उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत एक स्टाटस राख्दै आफुलाई मत दिएर जिताउने, चुनाव प्रचारप्रसारमा र निर्वाचनको समयमा सघाउने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् । साथै बिजयीको नाउमा होहल्ला, जुलुस नगरी आफु रहेकै ठाउँमा धन्यवाद र्याली गर्न आग्रह गरेको छ । उनले आफुले चुनावअघि सार्वजनिक गरेको घोषणापत्र पुरा भएको दिन मात्रै बिजयी उत्सव मनाउने बताएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि गत वैशाख ११ गते मनोनयन दर्ता गराएका बालेन साहको चुनावी प्रसारप्रसार रोचक रह्यो । काठमाडौंका गल्लीगल्लमीमा उनले रोचक ढंगबाट चुनाव प्रचारप्रसार गरेका थिए । बच्चा, युवा देखि बृद्धासम्मसम्मको मन जित्न सफल साहले महानगरका विभिन्न गल्लीमा हजारौं युवाहरुको साथमा चुनाव प्रचार–प्रसार गरेका थिए ।

र्यापर र इन्जिनियरिङ पृष्ठभूमिबाट आएका बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार घोषणा गर्दा सबैले सुरुवातीमा एउटा र्यापरले के नै गर्लान र भन्ने खालका टिकाटिप्पणी आएका थिए । र्याप ब्याटलबाट सीमित फ्यान फलोविङ बढाएपनि बालेनले काठमाडौं महानगरपालिकाको उम्मेदवारमा वैशाख ११ गते मनोनयन दर्ता गराएर घोषणापत्र सार्वजनिक गरेपछि उनले औपचारिक रुपमा चुनावको प्रचार गरेका थिए । तर बालेन साहले चुनावको मिति घोषणा भएदेखि नै तयारी सुरु गरिसकेको थिए ।

प्रत्येक दिन विहानैदेखि अभियान चलाउँदै, सडक, घर, बहाल (चोक)हरुमा पुगेर भोट मागे । उनले सडकमा गुडिरहेका, हिडिरहेको, व्यापार गर्दै गरेकाहरुसँग भोट मागेका थिए । स्वतन्त्र उम्मेदवार त्यसैमाथि ‘बृद्धालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेक्न मिल्ने’ नारा सहितको ‘लौरो’ चुनाव चिन्हले उनलाई अझै चर्चामा ल्याउन सहयोग पुर्यायो । देश देखि विदेशमा रहेका लाखौं युवाहरुले उनको प्रचारप्रसारमा साथ दिए । उपत्यका बाहिर घर भएका काठमाडौंमा बसोबास गर्ने युवाले उनीसँगै प्रचारप्रसारमा लागेका थिए भने विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमार्फत चुनाव प्रचार गर्न बालेनलाई सहयोग गरेका थिए ।

प्रचारप्रसारको सुरुवातीमा बालेनसँग २०।३० जना युवा आफ्नो साथमा भएपनि दैनिक उनलाई समर्थन गर्दै उनको प्रचारप्रसारमा युवादेखि बृद्धासम्म थपिँदै गए । बालेनको बढी चर्चा हुनुमा सामाजिक संजालको बढी भूमिका छ । उनले आफ्नो फेसबुक पेजमार्फत घरदैलो कार्यक्रममा समर्थक तथा स्वयम्सेवकका रुपमा जोडिनका लागि अनुरोध समेत गरेका थिए । वैशाख १९ गते बसन्तपुर, गुहेश्वरी मन्दिर, ढुंगेधारा एरियामा चुनावप्रचारप्रसारमा उनलाई सयभन्दा बढी युवाहरुले साथ दिए । चुनाव प्रचारप्रसारको क्रममा बालेनले युवादेखि बृद्धबृद्धा र शारीरिक अपाङ्गता व्यक्तिहरुको समेत मन जितेका थिए ।

वैशाख २० गते घरदैलो कायक्रममा उनले सोचेभन्दा धेरै युवाहरुले उनको साथ दिए । बालेनको सर्पोटमा हजारौं युवाहरुको साथ देखेर बालेनले जित्दै जित्दैन भन्नेहरुले पनि जित्न सक्ने अड्कल गरे । केहीले घरदैलो कार्यक्रमको नाउमा सडकमा र्याली गर्दै हिडेर बाटोमा भेट्नेलाई नमस्कार गरी भोट माग्दैमा चुनाव जित्न नसक्ने जस्ता आलोचना समेत गरेका थिए । बालेनले सो कुराको स्पष्टिकरण गर्दै हरेक घरका मानिसलाई घर–घरमा गएर भेट्न सम्भव नहुने र चुनाव जित्न घर–घरमा पसेर भोट माग्नु भन्दा समर्थन जुटाउनु उपयुक्त हुने बताएका थिए ।

वैशाख २१ गते उनले फेसबुकमार्फत एक स्टाटस राख्दै भने, ‘बिना कुनै संगठन जे भइरहेछ, सबै तपाईहरुको साथ र समर्थनले भइरहेको छ । तपाईहरुले दिनुभएको चासो मात्रले पनि हामीलाई सकारात्मक हौसला दिने गर्छ । तपाईहरुलाई भेटेर आफ्ना कुरा राख्न हामी आतुर छौं । यसैले हाम्रो घरदैलो नियमित छ ।’ उनले आफुलाई पायक पर्ने समय र स्थानमा जोडिन सक्ने र स्थानीय व्यक्ति वा संस्थाहरुको भेला गराएर भेटघाट, छोटोमिठो अन्तरक्रिया वा कोणसभा गराउन सक्ने बताउँदै घरदैलोमा आएर वा सबै किसिमका कार्यक्रमहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र समर्थन गर्न आग्रह गरेका थिए ।

‘अब पालो युवाको’ भन्ने नाराका साथ चुनाव प्रचारप्रसारको दैनिकीमा उनलाई धेरै नै व्यक्तिको समर्थन जुटिसकेको थियो । प्रचारप्रसारकै क्रममा धेरै चर्चा बटुलिसकेका बालेन साहको विषयमा एक चर्चित सञ्चार माध्यमले ‘भाइरल उम्मेदवार र राष्ट्रिय झण्डाको अपमान’ नामक एक सम्पादकीय प्रकाशित गर्यो । लाखौं युवाहरुले पित पत्रकारिताको पराकाष्ठा भन्दै सो सञ्चारमाध्यमप्रति खेद प्रकट गर्न थाले । यो विषयले पनि उनको चुनावी प्रचारप्रसारमा झनै टेवा पुगेको थियो ।

चुनाव प्रचारप्रसारकै क्रममा बालेनलाई ‘यसको माथिसम्म पहुँच छैन, यसले के गर्छ ? भन्ने जस्ता टिकाटिप्पणी पनि नआएका होइनन् । उनले सो कुरालाई ‘मेरो माथिसम्म पहुँच छैन र चाहिएको पनि छैन, तर मसँग तलसम्म जनताको पहुँच छ’ भनेर खण्डन गरेका थिए । उनले सामाजिक संजालमा पोष्ट्याएका हरेक विचार र स्पष्टोक्तिले पनि उनलाई थप चर्चामा ल्याएको देखिएको हो ।

वैशाख २७ गते एक स्टाटस राख्दै उनले भने, ‘ सुरुमा एउटा र्यापरले फेमस हुन काठमाण्डौँको मेयरमा उठ्यो भनेर युवाको समाज बदल्ने अठोटलाई होच्याए । जब हाम्रो भिजन र क्षमताका बारेमा थाहा पाए, तब एक्लो मेयरले केहि गर्न सक्दैन भन्न थाले । जब महानगरबासीले अभुतपूर्वरुपमा हाम्रो पक्षमा समर्थन जनाउन थाले तब विभिन्न कुप्रचार र हल्लाहरु फैलाएर भ्रम पार्न खोजे । तर पनि महानगरबासीले हाम्रा लागि समर्थन कम गर्नु भएन, उल्टो बढाइदिनु भयो । सामाजिक संजालमा राखेको उक्त अभिव्यक्तिमा ‘ह्यासट्याग बालेनस साह’ मात्रै कमेन्टहरु आएका थिए ।

युवाहरुले काठमाडौंको मुहार फेर्न बालेन साहले मेयर जित्नुपर्छ भन्दै भोट फर बालेन’ अभियान नै चलाएका थिए । जसको परिणाम यतिबेला देखिएको छ । काठमाडौंको प्राय सबै वडामा बालेनले अग्रता लिएर बिजयी निश्चित गरेका छन् । यसरी एक र्यापर काठमाडौं महानगरपाकिको मेयरमा स्वतन्त्र उम्मेदवार दिएर जित हासिल गर्नु एउटा इतिहास नै बनेको छ ।

लोकतन्त्रका गहना देशको प्रमुख दलहरु हुन् । लाखौं सदस्यहरु रहेको नेकपा एमालेकबाट उम्मेदवार बनेका केशव स्थापित, माओवादी र एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेकी सिर्जना सिंहले पराजय चखाउँदै स्वतन्त्र उम्मेदवार बालेनले बिजयी हासिल गरेको छ । काठमाडौं महानगरबासी र सिँगो देशका नागरिकहरुले स्वतन्त्र उम्मेदवारमाथि गरेको विश्वासलाई अब बालेन साह पूरा गर्ने ठाउँमा पुगेका छन् । भ्रष्टाचारको अन्त्य, सुशासन, विधिको शासन, काठमाडौं महानगरको साँघुरो गल्लीभित्रको सफाई मात्रै नभएर काठमाडौं (नेपाल) सभ्यता जोगाउने जिम्मेवारीलाई सचेततापूर्वक पूरा गर्न चुक्नु हुँदैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*