चिन्तालाग्दो अवस्थातर्फ बीमा पोलिसी ल्याप्स, बीमित कम्पनी दुवैलाई घाटा

१० जेष्ठ २०७९, मंगलवार १२:२८

काठमाडौं । जीवन बीमा कम्पनीहरुमाबीमा पोलिसीको अवधि नसकिदै बिचमै रोक्ने (ल्याप्स हुने) प्रवृत्ति बढ्दै गईरहेको छ । पुराना एवं सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी नै पोलिसी सरेण्डरमा अगाडि देखिएपछि बीमा पोलिसी ल्याप्स निकै ठूलो चुनौति बनेर बीमा क्षेत्रमा अगाडि आएको छ ।

बीमा सचेतनाको कारण निश्चित वर्षको लागि भनेर बीमा गराउनेहरू समय अवधी नपुगी बिचैमा बन्द गर्न थालेपछि यसले बीमा क्षेत्रमा दीर्घकालिन प्रभाव पार्ने देखिएको छ ।

अभिकर्ताहरूले व्यवसाय बढाउने नाममा बीमा गर्ने समयमा बिमितलाई विभिन्न प्रलोभनमा पार्ने, जथाभावी रूपमा कमिसन छुट दिने, बीमा गरिएकाहरूलाई प्रिमियम तिर्न नियमित नझक्झक्याउने वा दोस्रो/तेस्रो वर्षबाटै सम्पर्क विहीन हुने जस्ता कारणबाट सही तरिकाले बीमा बजारको विस्तार तथा विश्वास बढ्न नसकेको बीमा अधिकारीहरु बताँउछन् ।

अझ कम्पनीहरूको विस्तारसँगै प्रतिस्पर्धामा सामेल भएका अभिकर्ताले बढी कमिसनको लोभमा पूर्व कम्पनीको बीमालेख समर्पण (सरेन्डर) गर्न लगाएर नयाँ कम्पनीमा लैजाने प्रवृत्ति अझ भयानक समस्याका रूपमा देखिँदै गएको बीमा ल्याप्स बृद्धि भएको बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्कले औल्याएको छ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरुले जारी गरेका बीमालेख समर्पण (सरेन्डर) गर्नेको सङख्या बढ्दै गएको बीमा समितिको तथ्याङ्कमा छ । तथ्यांक अनुसार पछिल्लो चार महिनामै ७८ करोड ७१ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएका छन्।

जुन १९ वटै कम्पनीको पुसदेखि चैत महिनासम्मको औषत बीमाशुल्क हो । सो अवधिमा कूल २५ हजार ३५२ वटा बीमालेख प्रतिमहिना समर्पण भएका छन् भने औषतमा कूल ६ हजार ३४० वटा बीमालेख मासिक रुपमा सरेन्डर भएको पाइएको छ ।

बीमाशुल्क र बीमालेख संख्याको आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको छ । समीक्षा अवधिमा सो कम्पनीले जारी गरेको २ हजार ६३ वटा बीमा पोलिसीबाट ३६ करोड २२ लाख रुपैयाँ बराबरको बीमा शुल्क सरेन्डर भएका छन् ।

त्यस्तै, दोश्रोमा राष्ट्रिय बीमा संस्थान छ । पुसदेखि चैतसम्ममा संस्थाको १ हजार ७१२ वटा बीमालेखबाट ८ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क सरेन्डर भएको छ ।

नेशनल लाईफको ५२०, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को ३३६ र एशियन लाइफको ४६४ वटा बीमालेखहरु सरेन्डर भएका छन् । जसको बीमाशुल्क रकम क्रमशः ८ करोड ३ लाख, ५ करोड ४४ लाख र ३ करोड ९० लाख रुपैयाँ रहेको छ ।

दुईदेखि तीन करोड रुपैयाँ बराबरको बीमाशुल्क सरेन्डर हुनेमा रिलायन्स, प्रभु र मेट लाइफ रहेको छ । यी तीन कम्पनीको क्रमशः ३१, ३१ र ३४७ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।

जसको बीमाशुल्क रकम क्रमशः २ करोड ९८ लाख, २ करोड ५९ लाख र २ करोड ५२ रुपैयाँ छ ।युनियन, सूर्या, आईएमई, सानिमा र गुराँस लाइफको एक करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ ।

त्यस्तै, करोड भन्दा कम रकमको बीमा पोलिसी सरेन्डर हुनेमा अधिकांश कम्पनी रहेका छन् । जसमा प्राइम, ज्योति, सिटिजन, रिलायबल, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये पनि सबैभन्दा कमको सरेन्डर गर्नेमा महालक्ष्मी लाइफ छ । ४ महिनामा महालक्ष्मीको १२ लाख रुपैयाँ बराबरको १२ वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।

समितिका अनुसार गत वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म कूल ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको थियो । जसमा बीमालेखको संख्या भने ६३ हजार ३३१ वटा थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*