एफपीओ निष्काशन र लाभांश प्रस्तावसहित विन नेपाल लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

१० जेष्ठ २०७९, मंगलवार ११:३८

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्नेगरी डाकेको हो ।

उक्त सभाले हाल कायम चुक्ता पूँजीको ९.३३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीमा संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न प्रबन्धपत्र संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने जस्ता प्रस्तावहरु पारित गर्नेछ ।

साथै सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ४ र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यसबाहेक आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरि पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको प्रस्ताव सूचीमा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले जेठ १८ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार जेठ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*