बीमा कम्पनीहरुले पुँजि बृद्धिका लागि थप समय पाउने, एक वर्ष म्याद थप हुने

९ जेष्ठ २०७९, सोमबार १६:११

काठमाडौं । बीमा समितिको आगामी चैत्र महिनाभित्रमा चुक्ता पुँजि बृद्धि गर्ने पर्ने आदेशबाट आतंकित बनेका लगानीकर्ताहरुले राहत पाउने भएका छन् । बीमा समितिले तोकिएको समयमा चुक्ता पुँजि बृद्धि गर्न नसक्ने कम्पनीहरुका लागि म्याद थप गर्ने मानसिकता बनाएको एक सञ्चालकले बीमापोष्टलाई बताएका छन् ।

बीमा समितिले पुँजि बृद्धिको डण्डा चलाएर नेपालको बीमा क्षेत्रमा खैलाबैला मच्चाउन थालेपछि धमाधम मर्जरमा जाने सम्बन्धमा छलफलहरु भइरहेका छन् । बीमापोष्टलाई प्राप्त सूचनामा बीमा समितिले थप एक वर्ष म्याद गर्ने विषयमा छलफल भएको छ । स्रोतका अनुसार अहिले केही नभन्ने सकेसम्म मर्जरका लागि दवाव दिने र नसक्ने कम्पनीहरुका लागि म्याद थप गर्ने योजना रहेको छ ।

बीमा समितिले सबै बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुलाई काठमाडौंको रविभवनस्थित एक होटलमा बोलाएर चैत्र भित्रमा मर्जरमा नगए कारवाही गर्ने चेतावनी दिएर मर्जरका लागि दवाव दिएको थियो ।

बीमा समितिले हाल नेपालमा सञ्चालित १८ वटा निर्जिवन बीमा कम्पनी र १८ वटा जीवन बीमा कम्पनीहरुलाई बलपूर्वक मर्जरमा पठाएर संख्या घटाई नयाँ लाईसेन्स वितरण गर्ने योजनामा रहेको छ । लाईसेन्स वितरण गर्दा अर्बौ रुपैयाँ घुस सेटिङ गर्न पाइने हुँदा बीमा समितिका अधिकारीहरु देखि राजनीतिक नेतृत्व समेत यस्ता सेटिङमा र्याल चुहाइरहेका छन् ।

बीमा समितिले एकातिर जोखिममा आधारित पुँजि भनिरहेको छ भने अर्कोतर्फ चुक्ता पुँजि बृद्धि गर्ने निर्णय गरेर बीमा कम्पनीहरुमाथि दोहोरो नीति लागू गर्दा अन्योलता सिर्जना भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*