बीमा गर्दाका फाइदाहरु के-के हुन् ? बीमाले भविष्य कसरी सुरक्षित पार्छ ?

७ जेष्ठ २०७९, शनिबार ०९:२४

काठमाडौं । बीमा भनेको भावि जीवनको जोखिमको सुरक्षण गर्ने माध्यम हो । भोलि आउने जोखिमको बारेमा कसैलाई पनि जानकारी हुँदैन । त्यसैले बीमा जरुरी हुन्छ । बीमा गर्दा बीमित र बीमकबीच सम्झौता हुने गर्दछ ।

तपाईं हामी सबै भोलिका बारेमा अनभिज्ञ हुन्छौं । कसले जानेको हुन्छ र रु भोलि अचानक जे पनि हुन सक्छ १ भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । त्यही सम्भावित जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।

दुई प्रकारका बीमा गर्न सकिन्छ

१। जीवन बीमा
बीमा समितिले जीवन बीमा भनेको व्यक्तिको आयुका आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । जीवन बीमा तीन किसिमका हुन्छन् ।

आजीवन जीवन बीमा

यो बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमामा निर्धारित अवधिसम्म बीमितले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बीमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि बीमितले बीमा शुल्क तिर्नु पर्दैन र मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधिअगावै बीमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम भने पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।

सावधिक जीवन बीमा

निश्चित अवधिसम्ममा बीमित जीवित रहेको अवस्थामा एकमुस्ट रकम प्राप्त गर्ने, बीमितको मृत्यु भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बीमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बीमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । बीमा अवधि समाप्त नहुँदै बीमितको मृत्यु भएमा बीमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवालाले प्राप्त गर्छ । त्यस्तै, दोहोरो दुर्घटना लाभसमेत योजनामा समेटिएको भएमा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।

म्यादी जीवन बीमा

सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बीमितले बीमाशुल्क भुक्तानी गर्छ । बीमा अवधिभित्रमा बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बीमांक रकम र बोनस प्राप्त गर्छ । तर, बीमा अवधिभित्रमा बीमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन । यस्तो योजनाको बीमाशुल्क पनि कम हुन्छ ।

२। निर्जीवन बीमा

जीवन बीमाबाहेक चल–अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारीसाधन आदिको बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमाअन्तर्गत दुर्घटना, औषधि उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिमलगायतको बीमा हुन्छ ।

दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानिको क्षतिपूर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भावित नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन निर्जीवन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषिअन्तर्गत पशुबीमा पनि ल्याएको छ । भौतिक सम्पत्ति, उत्पादनमूलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भइरहेको छ ।

बीमाको महत्त्व एवम् फाइदाहरू
बीमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बीमितलाई कहिल्यै घाटा हुँदैन । बुँदागत रूपमा हेरौं बीमा गर्दाका फाइदालाई ।

सर्वोत्तम बचत
जीवन बीमालाई सर्वोत्तम बचतका रूपमा लिन सकिन्छ । तर, यस प्रकारको बचत जुनसुकै समयमा झिक्न सकिँदैन । बैंक तथा वित्तीय संस्थामा रकम राख्दा जुनसुकै समयमा रकम झिक्न सकिने भएकाले अनावश्यक खर्च हुने सम्भावना पनि हुन्छ । तर, जीवन बीमाबापत सङ्कलन गरेको बचत तुरून्तै निकाल्न नसकिने भएकाले यसलाई सर्वोत्तम बचत भनिएको हो । बीमामा निर्धारित समयमा बीमा कम्पनीलाई बीमाशुल्क तिर्नुपर्ने हुन्छ । तोकिएको समयमा बीमाशुल्क नतिरेमा जरिमानासमेत तिर्नुपर्ने हुन्छ । त्यसैले, निधारित समयमै बीमाशुल्क भुक्तानीमार्फत अनावश्यक खर्च कटौती गरी बीमाशुल्कका रूपमा बचत गरिन्छ ।

सर्वोत्तम बचतलाई अनिवार्य वा बाध्यात्मक बचत पनि भन्न सकिन्छ । जीवन बीमामा बीमितले पटक–पटक गरेर थोरै–थोरै रकम तिर्दै गए पनि बीमा परिपक्वता हुँदा धेरै रकम संकलन हुन्छ । साथै, बीमा अवधि नसकिँदै बीमितको मृत्यु भएमा सोही समयमा भविष्यमा तिर्नुपर्ने रकम वा बीमांक तथा सो अवधिसम्मको बोनससमेत निजको हकवालाले प्राप्त गर्छ ।

आर्थिक सुरक्षा
जीवन बीमाको चर्चा हुनेबित्तिकै आर्थिक सुरक्षाको पनि कुरा आउँछ । बीमा नै यस्तो साधन हो, जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको कवचका रूपमा काम गरेको हुन्छ । बीमाले बीमितको धेरै ठूलो रकमको जोखिम वहन गरेको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमांक तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई प्रदान गर्छ । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।

कर छुट
आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ । करमा छुट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।

ऋण सुविधा
बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।

परनिर्भरता उन्मूलन
जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनु पर्दैन ।

मानसिक शान्ति
मानिसलाई आफ्नो जीवनमा हुन सक्ने अनिश्चितताले सताइरहेको हुन्छ । आफ्नो मृत्युपछि घरव्यवहार सञ्चालन, सन्तानको शिक्षा, बुढेसकालको सहारालगायत विविध कारणले गर्दा मानिसहरू त्रसित भएका हुन्छन् । जीवन बीमाले यस्ता समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले मानसिक शान्ति प्रदान गर्छ । अचानक हुने आर्थिक क्षतिको भरपाइ बीमाले गर्ने भएकाले चिन्तामा बस्नु पर्दैन ।

भविष्यको योजना निर्माण
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा माथि नै हुन्छ । हामीसँग भविष्यका योजनाहरू पनि हुन्छन् । सोहीअनुसार हामी काम गरिरहेका हुन्छौं । उदाहरणका लागि ३ वर्षपछि एउटा स्कार्पियो किन्छु वा ८ वर्षपछि घर बनाउँछु । यस्ता योजनामा हामीले आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । यसका लागि हामीले बचत गर्न थाल्नुपर्छ, काम गर्नुपर्छ यस्तै यस्तै । कुनै पनि व्यक्तिका तिनै सपना वा योजनाहरूलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौं ।

मुलुकको विकासमा योगदान
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि सानो योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी पुँजी जीवन बीमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।

सन्तानको शिक्षा
हरेक व्यक्तिको आफ्ना सन्तान शिक्षित बनून् भन्ने चाहना हुन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाका कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिन्छ भन्ने यसैले देखाउँछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*