बीमा समितिको निर्णय नेपाल पुनर्बीमा कम्पनीले मान्ने

५ जेष्ठ २०७९, बिहीबार १४:२४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा समितिले गरेको पुनर्बीमाको व्यवसाय १० प्रतिशतमा झार्ने निर्णय मान्ने भएको छ । बीमा समितिको हिजो बसेको बैठकले दुई कम्पनीलाई बाँडेको १० प्रतिशत व्यवसायलाई पनि प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाउँदै लैजाने निर्णय गरेको छ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष रविन्द्र घिमिरेले नियामक निकायको निर्णय अनिवार्य मान्नुपर्ने पुनर्बीमा कम्पनीको दायित्व भएकाले उक्त निर्णय मान्न कम्पनी तयार रहेको बताए । साथै प्रतिस्पधी कम्पनीसँग प्रतिस्पर्धा गर्न समेत आफुहरु तयार रहेको उनको भनाई छ ।

नेपाल पुनर्बीमा कम्पनीले हाल पाउँदै आएको २० प्रतिशत व्यवसाय मध्ये १० प्रतिशतमा झार्ने निर्णय पुनर्बीमा कम्पनीले मान्ने भएको हो । समितिले नेपाल पुनर्बीमा कम्पनीले पाउदै आएको २० प्रतिशत व्यवसाय हिमालयन रिलाई पनि बराबर बाँडने निर्णय गरेको छ । त्यस अनुसार नेपाल पुनर्बीमा र हिमालयन रिले १०/१० प्रतिशत व्यवसाय पाउने भएका छन् ।

बीमा समितिले प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाएर ५ वर्षमा समितिले सुनिश्चित गरेको व्यवसायलाई शुन्यमा झार्ने समेत निर्णय गरेको छ ।त्यस अनुसार पाँच वर्ष पछि भने कुनै पनि कम्पनीलाई समितिले व्यवसाय सुश्चित गर्दैन् ।

हाल १० प्रतिशत आरक्षित व्यवसाय पाउँदै आएका कम्पनीले अर्को वर्ष ८ प्रतिशत, त्यपछिको वर्ष ६ प्रतिशत हुँदै पाँचौं वर्षमा २ प्रतिशत मात्र व्यवसाय पाउनेछ । छैटौं वर्षदेखि आरक्षित व्यवसाय शुन्यमा झर्नेछ । छैटौं वर्षदेखि भने दुबै कम्पनीले सुश्चित व्यवसाय पाउनेछैनन् भने आफैँले खोज्नुपर्नेछ ।

समितिको पछिल्लो निर्णयले सरकारी स्वामित्व समेत रहेको नेपाल पुनर्बीमा कम्पनीले ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यापार खोसिनेछ ।

२० प्रतिशत पुनर्बीमा आरक्षणबाट साढे ७ अर्ब माथिको व्यापार पाउँदै आएको थियो । नेपाल रिले पाउँदै आएकोमध्ये १० प्रतिशत बराबरको व्यवसाय बाँड्ने समितिको निर्णयले ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यापार खोसिनेछ । उक्त व्यवसाय निजी क्षेत्रको लगानीमा स्थापित हिमालयन रि ले पाउनेछ ।

अहिले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि गरी दुई वटा पुनर्बीमा कम्पनीहरु संचालनमा रहेका छन् । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी करिब ४० प्रतिशत स्वामित्व विभिन्न संघसंस्था र बीमा कम्पनीहरूको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अध्यक्ष रहेको हिमालयन रि मा विभिन्न व्यवसायी घराना सहित ४४ कम्पनी र १०७ जनाको लगानी छ । जसमा शुलभ अग्रवाल (एमबर प्रोरेभष्टमेन्ट) को सबैभन्दा धेरै ९.६९, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको समान ७.१४ प्रतिशत, दिपक भट्ट( इन्फिनिटी होल्डिङ्ग) को ६.४३, शाहिल अग्रवाल (जगदम्बा मोटर्सं) को ४.५७, सतिश मोर (गणपति बनस्पति) को ३.२१, शाहिल अग्रवाल (जगदम्बा स्टिल) र विकास दुगडको समान ३.१४ पतिशत लगानी रहेको छ । यस्तै शेयर गोल्छा ( हंसिराज हुलाचन्द एण्ड कम्पनी) र प्रकाश पौडेल (सेफ्रेन सिके इन्भेष्टमेन्ट)को समान २.८६ प्रतिशत, राशेज अग्रवाल (आरएमसि कन्स्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट) र शशिकान्त अग्रवालको समान २.१४ प्रतिशत लगानी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*