वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक र ग्लोबल आईएमई बैंक कर्जा विस्तारमा अगाडि, कुन बैंकको अवस्था कस्तो?

५ जेष्ठ २०७९, बिहीबार ११:०१

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक र ग्लोबल आईएमई बैंक कर्जा विस्तारमा अगाडि बढेको छ । गत असारको तुलनामा बैशाख मसान्तसम्म यी दुई बैंकले अन्य बैंकको तुलनामा बढी कर्जा विस्तार गरेका छन् ।

आर्थिक बर्ष २०७९ बैशाख महिनासम्म नेपाल बैंकले ३१.९८ प्रतिशतले कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको असार महिनामा १ खर्ब ४४ अर्ब रूपैयाँ कर्जा लगानी गरेको नेपाल बैंकले चालु आवको बैशाखसम्म कुल १ खर्ब ७६ अर्ब ९३ लाख रूपैयाँ कर्जा विस्तार गरेको देखिएको छ ।

यस्तै, कर्जा लगानीमा दोस्रोमा ग्लोबल आईएमई बैंक छ । ग्लोबल आईएमई बैंकले असारको तुलनामा चालु आवको बैशाखसम्म कुल ३०.५१ प्रतिशतले कर्जा लगानी बढाएको छ । गत आवको असार मसान्तसम्म कुल २ खर्ब ४२ अर्ब रूपैयाँ कर्जा लगानी गरेको यस बैंकले चालु आबको बैशाखसम्म कुल २ खर्ब ७३ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ ।

गत असारको तुलनामा बैशाखसम्म सबै वाणिज्य बैंकको कर्जा लगानी बढेको देखिएको छ । एनएमबि बैंकले २७ प्रतिशत, कृषि विकास बैंकले २६ प्रतिशत, राष्ट्रिय वाणिय बैंकले २४ प्रतिशत, लक्ष्मी बैंकले २३ र नबिल बैंकले २२ प्रतिशतले कर्जा लगानी बढाएका छन् ।

गत असारसम्म कुल ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले चालु आवको बैशाख महिनासम्म कुल ४१ खर्ब ९१ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् ।

८ बैंकको निक्षेप घट्यो

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत असारको तुलनामा बैशाखसम्म ८ वटा वाणिज्य बैंकको निक्षेप घटेको छ । निक्षेप घट्नेमा राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई, सेञ्चुरी, कृषि विकास र बैंक अफ काठमाण्डूको निक्षेप घटेको देखिएको हो ।

सबैभन्दा बढी निक्षेप राष्ट्रिय वाणिज्य बैंकको घटेको देखिएको छ । गत असारसम्म कुल २ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेको यस बैंकको चालु आवको बैशाखसम्म २ खर्ब ४६ अर्ब रूपैयाँमा सीमित भएको हो ।

यस्तै गत असारको तुलनामा प्राइम कमर्सियल बैंकको ४.०२ प्रतिशत, एनआईसी एसियाको ३.१० प्रतिशत, नेपाल बंगलादेश बैंकको ७.३८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ६.३३ प्रतिशत, बैंक अफ काठमाण्डूको ०.१९ प्रतिशत, सेञ्चुरीको ४.५८ प्रतिशत र कृषि विकास बैंकको १.८६ प्रतिशत निक्षेप घटेको देखिएको छ ।

बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४३ खर्ब ७० अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् । गत असारमा बैंकहरूले कुल ४२ खर्ब १ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका थिए । त्यस्तै, गत साताको तुलनामा भने बैंकको निक्षेप ३ अर्ब रूपैयाँले घटेको छ ।

(Amount in Arba)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*