बीमा समिति आजबाट ५४ औं वर्षमाः प्रजातन्त्रको उदयसँगै फक्रेको सुन्दर फूल बन्दै बीमा समिति

१ जेष्ठ २०७९, आईतवार ०९:०३

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति आजबाट ५४ औं वर्षमा प्रवेश गरेको छ । ५४ औं बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले आज शुभकामना सन्देश जारी गर्दै सबैमा शुभकामना व्यक्त गर्दै बीमा समितिको भूमिका अझै प्रभावकारी हुने र नियमन अझै फराकिलो बन्ने विश्वास व्यक्त गरेका छन् । ५४ औं बार्षिकोत्सवकै अवसरमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जारी गरेको प्रतिबद्धतामा बीमाको नियमन अन्तर्राष्ट्रिय सिद्धान्त, बीमाको आभारभूत मूल्य र मान्यता अनुसार नेपालको परिधिभित्र रहेर गर्ने प्रतिबद्धता जनाइएको छ । अध्यक्ष सिलवालले बीमा समितिको स्थापनाको अवसरमा बीमालाई गरिब, न्यून आय भएका विपन्न नागरिकका बीचमा पुर्याउनुपर्ने चुनौति सामना गर्न बीमा क्षेत्र तयार हुनुपर्ने सन्देश दिएका छन् ।

प्रत्येक वर्ष विविध कार्यक्रम गरी बार्षिकोत्सव मनाउँदै आएको बीमा समितिले गत वर्ष कोरोना महामारीका कारण र यस वर्ष स्थानीय तहको निर्वाचनको कारण बार्षिकोत्सव कार्यक्रम आयोजना गर्न सकेन । आजको लागि निर्धारित कार्यक्रम पछि आयोजना गरिने बीमा समितिले जनाएको छ ।

२०२६ साल जेठ १ गते स्थापना भएको बीमा समितिले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको बीमा क्षेत्रमा नियमनकारी निकायको रुपमा भूमिका निर्वाह गर्दैछ । नेपालमा बीमा इतिहास धेरै लामो पाइदैन । त्यसैले बीमा नियामकको रुपमा बीमा समितिको इतिहास पनि छोटै छ । बीमा समितभन्दा पहिले बीमा कम्पनीहरु स्थापना भई क्रियाशिल भएको नेपालमा बीमा समिति स्थापना भएर पनि कैयौं वर्षसम्म बीमा समितिलाई अर्थमन्त्रालयको एउटा कुनामा खुम्च्याइएको थियो ।

नेपालमा २०४६ सालको प्रजातन्त्र पुनस्र्थापना भएपछि तत्कालिन सरकारले लिएको उदार अर्थनीतिको एउटा सुन्दर फूलको रुपमा बीमा समितिलाई लिन सकिन्छ । पञ्चायत कालमा अर्थमन्त्रालयको कोपभाजनमा परेको बीमा समितिले उदार अर्थनीतिमा देशले पाइला राखेसँगै सुन्दर फूलको रुपमा स्वतन्त्र अस्तित्वमा मात्रै आएन देशको दरिलो खम्बा बीमा क्षेत्र हो भन्ने कुरालाई स्थापित गर्दै निरन्तर अग्रगमनतर्फको यात्रा जारी राखेको छ । उदारअर्थतन्त्रसँगै नेपालको आर्थिक क्षेत्रमा धेरै नयाँ कुराहरु भए त्यसै मध्येका एक बीमा समितिको विकास र प्रगतिलाई लिन सकिन्छ ।

 

 

बीमा ऐन २०२५ जारी भएपछि २०२६ साल जेठ १ गते तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट नेतृत्वको मन्त्रिपरिषदको बैठकले बीमा समिति गठन गरेको थियो । पञ्चायती संसदबाट बीमा ऐन २०२५ जारी भइसकेको अवस्थामा बीमा समिति गठन गरिएको थियो । बीमा समिति गठन भएपनि समितिलाई स्वायत्त निकायको रुपमा नभई अर्थमन्त्रालयको एउटा सानो कार्यालयको रुपमा एउटा कोठामा सीमित हुन पुग्यो ।

सो समयमा २०२४ सालदेखि बीमा कारोबार गर्दै आएको सालमा राष्ट्रिय बीमा संस्थान र २००४ सालदेखि कारोबार गर्दै आएको नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लि.लाई मात्रै नियमन गर्न स्थापना भएको बीमा समिति आज १८ वटा निर्जिवन र १८ वटा जीवन बीमा तथा दुई वटा पुनर्बीमा कम्पनीलाई प्रत्यक्ष नियमन गर्दै आएको छ । यसको अतिरिक्त एक अमेरिकी जीवन बीमा कम्पनीको शाखा कार्यालय र दुई भारतीय निर्जिवन बीमा कम्पनीका शाखा कार्यालयलाई समेत नेपालको बीमा कानुनमा बाँधेर नियमन गर्दै आइरहेको छ ।

सुरुवाती चरणमा अर्थमन्त्रालयभित्र एउटा शाखा कार्यालयको रुपमा रहेको बीमा समिति बीमा ऐन २०४९ जारी भएपछि स्वायत्त निकायको रुपमा काम कारवाही गर्दै आइरहेको छ । २०४८ सालअघि बीमा समितिको बैठक अर्थमन्त्रालयको कुनै कोठामा आवश्यकता परेको बखत मात्रै बस्ने गर्दथ्यो ।

आफ्नै प्रशासन समेत नभएको बीमा समितिले करिब २३ वर्ष अस्तव्यस्त र भद्रगोलका बीचबाट गुज्रिदा नेपालमा बीमाको संस्थागत विकास हुन सकेन । बीमा ऐन २०४९ सो सालको पुस २ गते नयाँ बीमा ऐन लागू भएपछि बीमा समिति स्वतन्त्र अस्तित्वमा आएको हो । त्यसयता बीमा समितिले स्वतन्त्र नियामक निकायको रुपमा भूमिका निर्वाह गर्दै आएपनि राजनीतिक हस्तक्षेपका कारण बीमा क्षेत्रमा छिरेर व्यक्तिगत तथा समुहगत लाभ लिने थुप्रै प्रयत्नहरु हुँदै आएका छन् ।

स्थापना ५४ औं बार्षिकोत्सव मनाइरहँदा आज बीमा समिति एक स्वतन्त्र र अधिकार सम्पन्न बीमा नियामक निकायको रुपमा स्थापित भइसकेको छ । बार्षिक अर्बौको कारोबार, ९० जना कर्मचारी, नेपाल सरकारबाट नियुक्त सञ्चालक समितिसहित दक्ष जनशक्तिमार्फत बीमा क्षेत्रको नियमन गर्दै अघि बढेको बीमा समिति अब सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने प्रक्रियामा अघि बढिसकेको छ । केन्द्रीय रुपमा काठमाडौंबाट नियमन गर्दै आएको बीमा समितिले प्रदेशमा समेत शाखा खोलेर विस्तारित नियमनमा जाँदैछ ।

बीमा क्षेत्रका प्रभावकारी नियमनको लागि दक्ष जनशक्ति, अत्याधुनिक सफ्टवयर प्रणालीमार्फत कार्य गर्दै आइरहेको छ । बीमाको पहुँच बृद्धिका लागि नीति निर्माणहरु बनाउने, योजना तर्जुमा गर्ने तथा योजना तथा नीतिहरुको कार्यन्वयनको सुपरिवेक्षण समेत गर्दै आइरहेको बीमा समिति एक अविछिन्न उत्तराधिकार निकाय समेतको रुपमा आफ्नो भूमिकासहित उपस्थित छ । बीमा समिति निर्जिवन बीमा कम्पनीहरु, जीवन बीमा कम्पनीहरु तथा पुनर्बीमा कम्पनीहरुसँग हातमा हात मिलाउँदै, साथमा साथ मिलाउँदै नेपाल सरकार र निजि क्षेत्रको बीचमा रहेर पुलको काम गर्दै अघि बढिरहेको छ ।

 

बीमा समितिका पूर्व सचिव सूर्य प्रसाद सिलवालको अध्यक्षतामा अर्थमन्त्रालयका सह–सचिवहरु रितेश शाक्य र सुशिल कोइराला, बीमा विज्ञ–कानुनका ज्ञाता कपिल देव ओली र बीमितहरुको तर्फबाट सन्तोष रिजाल सञ्चालक छन् । बीमा समितिको स्थायी सरकारको रुपमा व्यवस्थापनतर्फ बीमा समितिमा २६ वर्षदेखि कार्यरत राजुरमण पौडेल कार्यकारी निर्देशकको नेतृत्वमा अनुभवी र दक्ष कर्मचारीहरुले नेतृत्व गरिरहेका छन् । बीमा समितिका निर्देशकहरु कमलराज रेग्मी, सुशिल देव ओली, पुजन ढुंगेल अधिकारी, दिनेशलाल कर्णको जुझारु, सक्रिय र निकै मेहनतका साथ बीमा नियमनमा हरदम परिचालित रहँदै आएको छ ।

बीमितहरुको हितमा काम गर्ने, बीमा कम्पनीहरुको दैनिक क्रियाकलापको सुक्ष्म विश्लेषणदेखि अर्ध– न्यायिक निकायसम्मको भूमिका निर्वाह गर्दै आइरहेको छ । बीमा समिति जिल्ला अदालत सरहको अधिकार प्राप्त न्यायिक निकाय समेत हो । बीमा ऐन २०४९ ले बीमा समितिलाई अर्धन्यायिक निकायको समेत जिम्मेवारी तोकेको छ ।

बीमा समितिका अध्यक्ष बीमा समितिका न्यायाधिश समेत हुन् । बीमक र बीमितका बीचमा सम्पन्न करार सम्बन्धी कुनै विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण गर्ने पहिलो निकायको रुपमा बीमा समितिका अध्यक्षले नेतृत्व गर्ने इजलाशबाट गरिने व्यवस्था बीमा ऐन २०४९ मा छ ।

संघीय संसदमा दर्ता भई छलफलको क्रममा रहेको बीमा ऐन २०७५ पारित भए पश्चात हालको बीमा समिति स्वतः बीमा प्राधिरकणमा रुपान्तरण हुने व्यवस्था छ । नेपालको बीमा क्षेत्रको समग्र नियमनको लागि अघि बढाइएको बीमा प्राधिकरण सम्भवतः आगामी आर्थिक वर्षभित्रमा संसदबाट पास भइ लागू हुने सम्भावना छ ।

आजको दिनमा बीमा क्षेत्रले जे जति प्रगतीहरु गरेका छन्, त्यसमा बीमा समितिको प्रत्यक्ष भूमिका छ । बीमा पहुँच २७ प्रतिशतभन्दा माथि पुगेको छ । देशको अर्थतन्त्रको गतिलो मेरुदण्डको रुपमा बीमा क्षेत्रले आफूलाई विकास गर्न सफल हुनाको साथै हजारौलाई रोजगारीसहित निर्जिवन बीमा, जीवन बीमा, पुनर्बीमा तथा लघु बीमामा देश आत्मनिर्भर भइसकेको छ ।

बीमा समितिकै नियमनमा बीमा क्षेत्रको कोषमा संचिती भएको करिब पाँच खर्ब रुपैयाँ देशको अर्थतन्त्रको मेरुदण्ड बन्न सफल भएको छ । बैंकरुको निक्षेपको रुपमा मात्रै नभई देशको पुँजि निर्माणमा बीमा क्षेत्रले खेलेको भूमिका अतुलनिय छ । अर्थमन्त्रालयको एउटा कोठाबाट सुरु भएको बीमा समितिको यात्रा आज ५४ औं बार्षिकोत्सव मनाइरहँदा प्राप्त गरेको उपलब्धीसँग दाजेर हेर्दा निकै ठूलो उपलब्धी प्राप्त गर्न सफल भएको छ ।

आजको यस ऐतिहासिक अवसरमा बीमा समितिमा कार्यरत सबै कर्मचारी, सञ्चालक समिति, पूर्व अध्यक्षहरु, पूर्व कर्मचारीहरु, बीमा कम्पनीमा कार्यरत सबै कर्मचारी, बीमा प्रशासक तथा सञ्चालक तथा अध्यक्षहरु सबै सबै बधाईका पात्र छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*