सूर्योदय वोमी लघुवित्तको शेयर सूचीकृत
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सूर्योदय र वोमी लघुवित्त एकआपसमा मर्जरमा जानुभन्दा अघि गत भदौ १५ गतेदेखि दुवैको शेयर धितोपत्र दोस्रो बजारमा रोक्का रहेको थियो ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु भएपछि साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरमा जाँदा १ः१ अनुपातमा कायम हुन आएको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्य दरको ७९ लाख १९ हजार ८४८ कित्ता शेयर आज सूचीकृत भएको हो । जसमा साविक वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता शेयर र सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता शेयर रहेको छ ।
नेप्सले यस सूर्योदय वोमी लघुवित्तको शेयर ‘एसडब्लुएमएफ’ सिम्बोलबाट सूचीकृत गरेको हो । सूचीकृत पश्चात भोलिदेखि नै लगानीकर्ताले उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।
यी दुई लघुवित्तबीच २०७८ साल भदौ १५ गते मर्जरमा जान सम्झौता भएको थियो । सोही मितिदेखि नै दुवै लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो ।