खराब कर्जा घटेसँगै सामुदायिक लघुवित्तको नाफा ६४ प्रतिशतले बढ्यो, रिजर्भको आकारमा बृद्धि

२७ बैशाख २०७९, मंगलवार ११:३९

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

चालु आवको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ६४.६८ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा यसले १ करोड ७१ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

साथै यसअवधिमा लघुवित्तको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न सहयोग पुगेको हो । साथै, खराब कर्जा घटेकाले पनि नाफा बढेको हो ।

सञ्चालन नाफा १२९.०७% ले बढेर ४ करोड ३४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ८९ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १०.२९% ले बढेर ८ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ७ करोड ९९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा खराब कर्जा १.३६% ले घटेर ४.७२% मा आएको छ । अघिल्लो वर्ष खराब कर्जा ६.०८% थियो ।

चालु आवको ९ महिना अवधिसम्म लघुवित्तको चुक्तापुँजी १३ करोड रुपैयाँ रहेपकोमा रिजर्भको आकार ४२.५२ प्रतिशतले बृद्धि भएर ९ करोड ४७ लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, यस अवधिसम्म संस्थाले ७२ करोड ५२ लाख रुपैयाँ सापटी लिएर १५ करोड ६९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै ५५ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यसअवधिमा सामुदायिक लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ १८ पैसाले बढेर २८ रुपैयाँ ४६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*