१२ अंकले बढ्यो शेयरबजार, लघुवित्त सूचक चम्किदा १ अर्बमाथिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर शेयरबजारमा हरियाली छाउँदा आज सामान्य अंकको मात्रै बढोत्तरी भएको छ ।
नेप्से परिसूचक आज १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी जेठ महिनादेखि बैंकहरुको ब्याजदर अझै बढ्न सक्ने दाबी गरेसँगै शेयरबजार प्रभावित बनेको थियो । लगातार सोही कारण घट्न पुगको शेयरबजार आइतबार र सोमबार झिनो अंकले भएपनि एकाएक बढ्न पुगेको छ ।
केही ब्रोकर कम्पनीहरुमा आगामी जेठ महिनादेखि बैंकहरुको ब्याजदर नबढ्दे लगानीकर्ताहरुको गाँईगुई हल्लाले पनि शेयरबजार बढेको हो कि भन्ने शेयर लगानीकर्ताहरले अनुमान लगाइरहेका छन् ।
अघिल्लो दिन नेप्सेमा रहेको १३ उपसूचकमध्ये बैकिङ्ग समुह र माइक्रोफाइनान्स समुह बाहेकका सबै सूचक सबै माथि उक्लिएका थिए । आज १३ उपसूचक मध्ये होटल तथा पर्यटन समुह, विकास बैंक समुह, जीवन बीमा समुह र लगानी समुह बाहेकका सबै सूचक बढोत्तरी भएको छ । आइतबार सर्वाधिक बृद्धि भएको विकास बैंक समुह आज २०.९१ रुपैयाँले घट्न पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक १३ उपसूचक मध्ये लघुवित्त समुहको ६०.७५ रुपैयाँले बढेर बृद्धि भएको छ । भने सर्वाधिक जीवन बीमा समुहको ८२.१२ रुपैयाँ घट्न पुगेको छ ।