नबिल बैंकसँगको मर्जर विषयमा छलफल गर्न एनबी बैंकले डाक्यो विशेष सभा
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ । बैंकले आगामी जेठ ७ गते बस्नेगरी सभा आह्वान गरेको हो ।
सभा, भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा नबिल र बंगलादेश बैंकको चल–अचल सम्पति प्रतिवेदनका आधारमा तयार पारिएको सेयर स्वाप अनुपात पारित गर्ने प्रस्ताव रहेको छ ।
बंगलादेशको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता सेयर अनुपात कायम हुनेछ । अर्थात् दुवै बैंक एक भएपछि बंगलादेश बैंकका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् ।
बैंकको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । दुवै बैंकबीच एक्वायर गर्न अन्तिम समझदारी पत्रमा भएका हस्ताक्षर तथा सम्झौताहरुको अनुमोदन गर्ने एजेन्डा पनि छ । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
विशेष सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । वैशाख २९ गतेसम्म कायम रहने सेयरधनी मात्र विशेष साभामा भाग लिन सक्नेछन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमतिसमेत पाइसकेको छ । यी दुई बैंकले गत पुस २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
साथै नबिल बैंकले पनि जेठ ७ गते विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा बस्ने निर्णय गरेको हो ।
विशेष सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । वैशाख २९ गतेसम्म कायम रहने सेयरधनी मात्र विशेष साभामा भाग लिन सक्नेछन् ।