चुनाव प्रचारप्रसारमा प्रयोग गरिएका १५ थान माइक बरामद

२१ बैशाख २०७९, बुधबार १२:५९

काठमाडौं । कास्कीको जिल्ला आचारसंहिता समितिले पोखराका विभिन्न वडामा निर्वाचन प्रचारप्रसारमा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर प्रचार प्रसारमा जुटेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका हुन् । उम्मेदवारहरुले आचारसंहिता विपरीतका कार्य गरेको गुनासोपछि समितिबाट पोखरा महानगरका विभिन्न वडामा अनुगमन गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको पुष्टि भएको हो ।

जिल्ला आचारसंहिता अनुगमन समितिका सदस्य–सचिव हुमनाथ पराजुलीको नेतृत्वमा पोखराका वडा नं १, २, ३, ६, ७, ८, ९ र १० मा अनुगमन गर्दा माइक बरामद गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसंहिता अनुगमन अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए ।

उनका अनुसार निर्वाचन आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न आमसभा र कोणसभा गर्न अनुमति प्राप्त स्थानमा बाहेक सवारी साधन वा अन्य कुनै स्थानमा राजनीतिक दल, स्वतन्त्र उम्मेदवार वा व्यक्तिले माइक प्रयोग गर्न पाउँदैनन् ।

कार्यालयले आगामी दिनमा अनुमति प्राप्त स्थानमा बाहेक अन्यत्र माइक प्रयोग नगर्ने।नगराउने सर्तनामा सहित एक पटकका लागि माइक फिर्ता गरिएको जनाएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुबाट पुनः लाउड स्पिकर प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेसमेत जनाएको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् । विभिन्न दल र उम्मेदवारले वडा वडामा सांस्कृतिक कार्यक्रमसहित चर्को आवाजमा कार्यक्रम गर्दा आचारसंहिता उल्लङ्घन हुने गरेको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*