मानुषी लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार, अधिकांश सूचक सकारात्मक
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
चालु आवको चैत मसान्तसम्ममा लघुवित्तले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ५५.८८ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा समेत उल्लेख्य सुधार देखिएको छ । खुद ब्याज आम्दानी १५.९८ प्रतिशतले बढेर ७ करोड ६ लाख रुपैयाँ र संचालन मुनाफा ५६.८७ प्रतिशतले बढेर३ करोड १२ लाख रुपैयाँ पुगेको छ । यी दुवै सूचांक बढ्दा संस्थाको नाफामा सुधार आएको हो ।
यस अवधिसम्म संस्थाको चुक्तापुँजी ५६.२५% ले बृद्धि भएर १० करोड ९३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार ५३ प्रतिशतले बृद्धि भएर ५ करोड २६ लाख रुपैयाँ संचित रहेको छ ।
संस्थाले चालु आवको ९ महिना अवधिसम्म ६० करोड ६१ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ कर्जा परिचालन र ७४ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी ३४.१० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४८.१८ रुपैयाँ पुगेको छ ।