इन्टरनेटका लागि डलर साट्न सञ्चारमन्त्रालय सहमत, इन्टरनेट बन्द नहुने

२० बैशाख २०७९, मंगलवार १८:०३

काठमाडौं । विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले देशभर बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द हुन नदिन संचार मन्त्रालयले भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

सोमबार इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानका प्रतिनिधि र संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबीच भएको भेटमा इन्टरनेट ब्यान्डविथका लागि डलर सटहीमा मन्त्रालयले भूमिका खेल्ने प्रतिबद्धता जनाएको हो ।

यसअघि संचारमन्त्रालयले नै रोकेको डलर सटही खोल्न मन्त्री कार्की सकारात्मक देखिएपछि इन्टरनेट बन्द नहुने लगभग निश्चित भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रुपमा बन्द गरेका कारण इन्टरनेट बन्द गर्ने अवस्थामा पुगेको थियो । ६ महिनादेखि ब्यान्डविथको रकम भुक्तानी गर्न नसकेपछि भारतीय कम्पनीले इन्टरनेट बन्द गर्ने चेतावनी दिएको थियो ।

गत शनिबार आइस्पानका अध्यक्ष सुधिर पराजुलीले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द हुन सक्ने भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका थिए ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको टाटा, एयरटेल र सिफ्फीबाट ब्यान्डविथ खरिद गर्दै आएका छन् । आइस्पानका अध्यक्ष पराजुलीका अनुसार कम्पनीले विगत ६ महिनादेखि भारतीय कम्पनीलाई शुल्क भुक्तानी गर्न नसक्दा आगामी साताबाट देशभर इन्टरनेट बन्द हुन सक्ने स्थिति आएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*