एनएमबी र सेञ्चुरी बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला, कसको ब्याजदर कति ?
काठमाडौं । दुई कमर्सियल बैंकले आज (वैशाख २१ गते)देखि ऋणपत्र जारी गर्दैछन् । एनएमबी बैंक लिमिटेड र सेञ्चरी कमर्सियल बैंक लिमिटेडले आजदेखि ऋणत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
एनएमबी बैंक
एनएमबि बैंक लिमिटेडले आजदेखि पुनः उर्जा ऋणपत्र निष्काशन गरेको छ । बैंकले बैशाख २१ गतदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३।९४’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ४ गते हुनेछ ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । बैंकले यस अघि गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो ।
सेञ्चुरी बैंक
सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले आज (वैशाख २१ गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा वैशाख २५ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।