अरुण भ्याली हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार ४८ अंकले घट्न पुगेको छ । स्थानीय तहको चुनाव नजिकिँदै गएसँगै शेयरबजार पनि प्रभावित बन्दै गइरहेको छ ।
केही महिनायता नेपाली शेयर मार्केटको अवस्था खस्किदो अवस्थामा पुगिसकेको छ । क्रमशः घट्दै गइरहेको नेप्से इन्डेक्स आज २.०७ प्रतिशतले घटेर २३ सयको विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँको कारोबार भएको छ ।
शेयरबजारमा पछिल्लो केही समययता शेयरको मात्रा र कारोबार रकम खासै बढेको छैन । गत वर्षको साउन भदौ महिना २० अर्ब सम्मको कारोबार भएको शेयरबजारमा पछिल्लो केही महिनायता धेरैमा ६।७ अर्बसम्मको कारोबार मात्रै हुने पुगेको छ ।
बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको कमी र बीमा कम्पनीहरुको मर्जरको विषयले पनि प्रभाव पारेको देखिएको हो । आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको आज एकैदिन ४ करोड ७३ लाख ५६ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ३८ लाख, शिवम् सिमेन्ट्सको ४ करोड २५ लाख, नेपाल फाइनान्सको ४ करोड ५ लाख र युनियन हाइड्रोपावरको ३ करोड ७४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।