आइपीओ निष्काशनको तयारीमा रहेको सिर्जनशील लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा १७.४४ प्रतिशतले थोरै हो । गत आवको यसै अवधिसम्म संस्थाले ४ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घटेको छ यसकारण कम्पनीको नाफमा गिरावट आएको हो । चालु आवको ९ महिनासम्म संस्थाको खुद ब्याज आम्दानी ४.५४ प्रतिशतले बढेर ११ करोड ६७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन नाफा १६.४८ प्रतिशतले घटेर ६ करोड ३५ लाख रपैयाँमा सीमित भएको छ ।
समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी ७ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार बढेर १३ करोड ६५ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब १८ करोड ६७ लाख रुपैयाँ सापटी लिई २ अर्ब ३० करोड ८१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, ७८ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
लघुवित्तले ३ करोड ३७ लाख २५० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता आइपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आइपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपश्चात् कम्पनीले सर्वसाधारणहरुमा आइपीओ जारी गर्नेछ ।