स्वस्तिक लघुवित्तको नाफा मात्रै सवा १ करोड रुपैयाँ, जगेडा कोषमा पौने ३ करोड संचित
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
चालु आवको चैत मसान्ससम्ममा लघुवित्तले १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा २० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म लघुवित्तले ९१ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र सचालन नाफा दुवै बृद्धि हुन पुगेको छ । यसकारण संस्थाको नाफामा प्रगति देखिएको हो । खुद ब्याज आम्दानी २४ प्रतिशतले बढेर २ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७१ प्रतिशतले बढेर १ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी ३ करोड ४६ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार समेत बृद्धि भई २ करोड ८८ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै चालु आवको ९ महिना अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ४४ करोड ६६ लाख रुपैयाँ सापटी लिई ६६ करोड ४५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, १६ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।