राष्ट्र उत्थान लघुवित्तको अधिकांश सूचकमा देखियो सकारात्मक सुधार, नाफा ७०% ले बृद्धि
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमासम्ममा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ७०.२० प्रतिशतले बढी हो ।
कम्पनीले आज प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य प्रगती देखिएको हो । गत आवको चैत मसान्तसम्ममा संस्थाले ३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सुधार देखिएको छ । यसकारण संस्थाको नाफामा प्रगति देखिएको हो । खुद ब्याज आम्दानी ३५.६१ प्रतिशतले बढेर १६ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा ७४.२२ प्रतिशतले बढेर ८ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिसम्ममा संस्थाले ३ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने ७७ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
भर्खरै आइपीओ निष्काशन गरेको यस संस्थाको चुक्तापुँजी ४८.५७ प्रतिशतले बढेर २६ करोड रुपैयाँ पुगेमो जगेडा कोषको आकार ६७ प्रतिशतले बढाएर १७ करोड ३५ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।
त्यस्तै, समिक्षा अवधिसम्ममा संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी २८४९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६६.७४ रुपैयाँ रहेको छ ।