खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेसँगै नाडेप लघुवित्तको नाफा ५०% ले घट्यो, इपिएस कति ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४९.९८ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ११ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी पनि १९.१४ प्रतिशतले घटेर २९ करोड १७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन नाफा ५१.२० प्रतिशतले घटेर ८ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घटेकोले खुद नाफामा सुधार नदेखिएको हो । साथै गत आवमा ४ करोड ३२ लाख रुपैयाँ छुट्याइएको प्रोभिजनमा यस आवमा ६ करोड ६९ लाख रुपैयाँ राखेको छ ।
चैत मसान्तसम्ममा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब १२ करोड रुपैयाँ सापटी लिई २ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ भने यस अवधिसम्ममा संस्थाले १ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यस्तै, यस अवधिसम्ममा संस्थाको चुक्तापुँजी ४८ करोड रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार ३.४० प्रतिशतले बृद्धि भई ३३ करोड ७९ लाख रुपैया संचित रहेको छ । संस्थाको वार्षिकी प्रतिशेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । गत आवमा ३७.४७ रुपैयाँ रहेको इपिएस २१.८५ रुपैयाँ घटेर १५.६२ रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ पनि ११.१७ रुपैयाँले घटेर १६९.५७ रुपैयाँमा कायम भएको छ ।