समिट लघुवित्तको नाफा ११ करोड ७४ लाख रुपैयाँ, इपिएस कति ?
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड ७४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्नपीको नाफामा उल्लेख्य सुधार देखिएको हो ।
गत आवको यसै अवधिसम्ममा संस्थाले १० करोड १ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा संस्थाको नाफा १७.२० प्रतिशतले बढेको छ ।
समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ४१.६० प्रतिशतले बढेको छ भने संचालन मुनाफा १७.१९ प्रतिशतले बढेको छ । यसकारण कम्नपीको नाफामा सुधार आएको हो । चैत मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी २६ करोड ३२ लाख रुपैयाँ र संचालन नाफा १८ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, यस अवधिसम्ममा संस्थाले १ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ६५ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
चैत मसान्तसम्ममा संस्थाको चुक्तापुँजी ४९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार ११.३१ प्रतिशतले बढेर २२ करोड ५३ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, संस्थाको वार्षिकी प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ । गत आवको यसै अवधिसम्ममा ३३.८८ रुपैयाँ रहेको इपिएस यस अवधिसम्म २.१९ रुपैयाँ घटेर ३१.६८ रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ पनि ५.७३ रुपैयाँ घटेर १४५.६२ रुपैयाँ पुगेको छ ।