वैशाखको दोस्रो सातामा शेयरबजारमा उछाल, साढे २ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । केही समययता लगातार घटिरहेको शेयरबजार आज एकाएक ९५.४६ अंकले बढ्न पुगेको छ ।
निर्वाचन नजिकिँदै जाँदा शेयर माफियाहरुले शेयरबजारमा यसरी एकाएक परिवर्तन ल्याएको धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् । नेप्से आज ४.११ प्रतिशतले बढेतापनि कारोबारमा खासै उत्साहपन देखिएको छैन ।
प्रि–ओपनिङ सेसनमा दोहोरो अंकले बढेको नेप्से परिसूचक बढ्दै बढ्दै ९५ अंकले बढेर बन्द हुन पुगेको छ । आज नेप्से इन्डेक्स समेत २४२०.९१ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँको कारोबार भएको छ ।
स्थानीय तहको वैशाख ३० गते हुने लागेको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै शेयरबजारमा उछाल आएको प्रक्षेपण गरिएको छ । केही दिनयताको मार्केट डेप्थको तुलनामा आज शेयरबजार बढेतापनि कारोबार र शेयर मात्राको आधारमा खासै उत्साह देखिएको छैन ।
नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । आज सर्वाधिक जीवन बीमा सूचक चम्किएको छ । जीवन बीमा समूहको आज ४२३.३७ रुपैयाँ र निर्जिबन बीमा समूहको ४३४.३७ रुपैयाँले बढेको छ । त्यस्तै विकास बैंक समूहको २६२.३७ रुपैयाँले बढेको छ ।