ग्लोबल आइएमई बैंकको खुद नाफा ३ अर्ब ७२ करोडमाथि, अन्य सूचक कस्तो ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा ४.१३ प्रतिशतले बढेको हो ।
गत आवको यसै अवधिसम्ममा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकले सो अवधिसम्ममा ३ अर्ब ७२ करोड नाफा कमाउँदा वितरण योग्य मुनाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा समेत बृद्धि भएको छ । बैंकको चैत मसान्तसम्ममा खुद ब्याज आम्दानी ८.२९ प्रतिशतले बृृद्धि भएर ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा २.७३ प्रतिशतले बढेर ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आएसँगै बैंकको नाफा बढ्न पुगेको हो । चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्तापूँजी १० प्रतिशतले बढेर २३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । साथै रिजर्भ कोषको आकार समेत २१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ संचित रहेको छ ।
बैंकले समिक्षा अवधिसम्ममा २ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६० अर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
खुद नाफा सामान्य बढेपनि बैंकको चुक्तापूँजी बृद्धि भएकाले प्रतिशेयर आम्दानी घट्न पुगेको छ । यस अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी १.१७ रुपैयाँले घटेर २० रुपैयाँ ८८ पैसा पुगेको छ । साथै प्रतिशेयर नेटवर्थ १४९.४५ रुपैयाँ रहेको छ ।