एनआइसी एशिया बैंकको अधिकांश सूचक चम्कियो, नाफा साढे ३ अर्बमाथि हुँदा इपिएस कति ?
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको अधिकांश सूचकहरुमा आकर्षक सुधार देखिएको छ ।
चालु आवको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरको छ । जुन गत आवको तुलनामा १९.९६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा पनि उत्कृष्ट सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी २५.४२ प्रतिशतले बढेर ८ अर्ब २५ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा १६.३३ प्रतिशतले बढेर ५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार भएसँगै खुद नाफामा आकर्षक सुधार देखिएको हो ।
त्यस्तै, समिक्षा अवधिसम्ममा बैंकले २ खर्ब ९६ अर्ब १७ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५७ अर्ब ६७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
चैत मसान्तसम्ममा बैंको चुक्तापूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेकोमा जगेडा कोषको आकार २५ प्रतिशतले बृद्धि भएर ९ अर्ब ७४ करोड रुपैयाँ संचित गर्न सफल भएको छ । यस अवधिसम्ममा बैंकको वार्षिकी प्रतिशेयर आम्दानी ७ रुपैयाँले बढेर ४१ रुपैयाँ ९४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ११ पैसा रहेको छ ।