शेयरबजारमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नयाँ वर्षको पहिलो साताको तेस्रो दिन मंगलबार शेयरबजारमा हरियाली छाएको छ । दुईदिन लगातार घटेको नेप्स परिसूचक आज १३ अंकले बढ्न पुगेको छ ।
नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीको निलम्बनका कारण शेयरबजारमा गिरावट आइरहेको शेयर विशेषज्ञहरुले अनुमान लगाइरहेको बेला आज दोहोरो अंकले बढेको हो ।
नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा कायम भएको छ । साथै नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा हरियाली छाएतापनि कारोबारमा भने खासै सुधार आउन सकेको छैन । गत वर्ष साउन भदौ महिनामा २१ अर्बसम्मको कारोबार हुने शेयरबजारमा पछिल्लो केही महिनायता ५ अर्ब भन्दा तल कारोबार सीमित हुन पुगेको छ । यसअवस्थामा पनि धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहर पछिल्लो समय ‘न्युट्रल’ अवस्थामा बसेको पाइन्छ ।
एक अर्बमाथि कारोबार हुँदा आज सर्वाधिक नबिल बैंकको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ६ करोड ३० लाख ६७ हजार ३८५ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ३५ लाख, महालक्ष्मी विकास बैंकको ३ करोड ८३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ५५ लाख र अपि पावरको ३ करोड ३८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।