नेपाली बजारमा कागतीको मूल्य हालसम्मकै उच्च, यस्तो छ भाउ बढ्नुको कारण

२ बैशाख २०७९, शुक्रबार १३:१५

काठमाडौं । भारतमा कागतीको मूल्य बढेपछि नेपाली बजारमा त्यसको असर पर्न गएको छ । पछिल्लो समय नेपाली बजारमा कागतीको भाउ आकाशिएको छ ।

कालिमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ । आजको थोक मूल्य सूचीअनुसार कागतीको मूल्य कालिमाटी तरकारी बजारमा प्रतिकिलो ३२० रुपैयाँदेखि ३५० रुपैयाँसम्म बिक्री भएको देखिएको छ । गत बुधबारको थोक मूल्य सूचीअनुसार भने कालिमाटीमा कागतीको मूल्य प्रतिकिलो ३७५ रुपैयाँसम्म बिक्री भएको देखिएको थियो जुन हालसम्मकै उच्च मूल्य मान्न सकिन्छ ।

कालिमाटी तरकारी बजारका सूचना अधिकारी बिनय श्रेष्ठका अनुसार एक महिनाअघिसम्म कागती प्रतिकिलो १५० रुपैयाँदेखि २०० रुपैयाँसम्म बिक्री हुने गर्दथ्यो । भारतमा कागतीको भाउ बढकोले नेपालमा असर देखिएको उनको भनाई छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेकोले ढुवानी खर्च र धेरै कागती उत्पादन हुने गुजरातमा केही समयअघि आँधीले कागती खेतीमा पुर्याएको क्षतिका कारण कागतीको मूल्य बढेको बताइएको छ ।

गत बर्षको यहि अवधिसम्म कागतीको थोक मूल्य प्रतिकिलो २४० रुपैयाँदेखि २५० रुपैयाँसम्म पुगेको थियो । अन्य बेलामा भने कागती ११० रुपैयाँदेखि १५० रुपैयाँ किलोसम्म कारोबार हुने गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*