२०७८ सालमा शेयर बजारमा के के भए ? वर्षको अन्तिम दिन सुखद बिदाई, पछाडि फर्केर हेर्दा के के देखियो ?

मनिष सोती
३० चैत्र २०७८, बुधबार १८:४३

काठमाडौं । नेपालको शेयर बजारको इतिहासमा २०७८ साल ऐतिहासिक वर्षको रुपमा आजबाट विदा भएको छ । नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक मूल्यबृद्धि भई ३२०० बिन्दु माथि पुगेर नयाँ रेडर्क कायम गर्न सफल भएको छ । गत वर्ष उकालो चढ्ने क्रममा रहेको शेयर बजार २०७८ साल सकिने अन्तिम दिन घट्दो क्रममा रहेको छ । यद्यपि २०७८ सालमा नेप्से परिसूचिक ३१९९ को बिन्दुमा पुग्दा लाखौं शेयर लगानीकर्ताहरु मालामाल बन्न सफल भइसकेका छन् । यसवर्ष नेपालको शेयरबजारमा विभिन्न खालका उतारचढावहरु भित्रिए । नयाँ कम्पनीहरु धितोपत्र दोस्रो बजारमा सूचीकृत भए ।

लगानीकर्ताहरुको संख्या थपिए । २०७७ सालको तुलनामा यस वर्ष शेयरबजारमा लगानीकर्ताहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि हुन पुगेको छ । हालसम्म धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या १२ लाख भन्दा बढी पुगेका छन् । कोरोना महामारीले पिल्सिएका लगानीकर्ताहरुले यस वर्ष शेयर बजारबाट ठूलो लाभ लिन सफल भएका छन् । शेयर मूल्य उच्च बिन्दुमा पुगेका बेला शेयर बजारमा प्रवेश गरेकाहरु डुबेर तनावमा पर्नेहरु पनि नभएका भने होइनन् ।

यसवर्षको शुरुवातमा शेयरबजारमा केही रौनकता छाएपतापनि वर्षको अन्तिमतिर बैकिङ्ग क्षेत्रमा देखिएको तरलता अभावका कारण र देशको आर्थिक संकटका कारण शेयरबजारमा क्रमिक रुपमा ओरालो लाग्यो । यस वर्षको सुरुमा २०७८ बैशाखको पहिलो दिन नेप्से परिसूचक २७३५ मा रहेको थियो । आज अन्तिम दिन नेप्से परिसूचक ३० अंकले बढेर २४१५.२४ विन्दुमा पुगेर बन्द हुन पुगेको छ । यस अर्थमा पनि यस वर्षको शेयरबजारमा सुरुको केही महिनाहरुमा उत्साह देखिएता पनि अन्तिमका केही महिनामा आर्थिक संकटका कारण शेयरबजार घट्दै गएको देखिएको छ । २०७८ सालमा शेयर बजारमा ठूलो आशा र विश्वासका साथ लगानीकर्ताहरु पैसा खोजेर लगानी गरिरहेका थिए भने अहिले लगानी गर्न केही हच्किएको अवस्था छ ।

२०७८ सालको सुरुवातसँगै शेयर बजार क्रमिक रुपले बढ्यो । असार २७ गते नयाँ अर्थमन्त्री जनार्दश शर्मा नियुक्त भएसँगै शेयरबजार लगातार बढेको देखियो । देशमा नयाँ अर्थमन्त्रीको आगमनसँगै शेयरबजारमा उछाल समेत आएको थियो । यही उछालले शेयर बजारको इतिहासमा नयाँ रेडर्क समेत राख्न सफल भएको थियो ।

लगानीकर्ताहरुको संख्या यस वर्ष अत्यधिक थपिए । नयाँ लगानीकर्ताहरु धितोपत्र दोस्रो बजारमा छिर्ने क्रम बढेसँगै साउन ३१ गते हालसम्मकै सर्वाधिक २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको थियो ।

लगत्तै भदौ महिनामा नेप्से परिसूचक ह्वात्तै बढ्न पुग्यो । बैशाखमा २७३५ विन्दुबाट अघि बढेको नेप्से परिसूचक २०७८ को भदौ २ गते ३१९९.०३ को विन्दुमा पुगेर हालसम्मकै सर्वाधिक रेकर्ड कायम गर्न सफल भएको थियो । सो दिन यस वर्षको सर्वाधिक विन्दु कायम हुन सफल समेत भयो । सो दिन नेप्सेमा २१ अर्ब ३१ करोडमाथिको शेयर खरिदबिक्री भएको थियो । त्यस दिन नेप्से ३१७२ विन्दुबाट खुलेर ३२२० सम्म पुगेर ३१९९ विन्दुमा आई बन्द हुन पुगेको थियो ।

नेप्से करिब ३२ सयको विन्दु टच गरेर फर्केपछि त्यो धेरै दिन टिक्न सकेन । त्यसलगत्तै शेयरबजार फेरी ओरालो लाग्ने क्रम सुरु भयो । शेयर बजार घट्दै घट्दै कात्तिक ४ गतेका दिन २०७८ सालकै सबैभन्दा कम २५ सयको विन्दुमा तल झरेको थियो ।

देशमा बैकिङ्ग क्षेत्रहरुमा तरलताको अभाव बढ्दै गएपछि शेयरबजारमा प्रभाव पर्दै गयो । शेयरबजार घट्दै घट्दै मंसिर २७ गते नेप्से परिसूचक २२८१.६७ विन्दुमा झ्यो । यसको पछाडि सरकारले लागू गरेको चार करोड र १२ करोड मुख्य रुपमा जिम्मेवार थियो । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत अघि बढाएको उक्त व्यवस्थाले शेयर बजारमा निराशा बढाएको थियो । जुन यस वर्षको सबैभन्दा न्यूनतम विन्दु हो । सोही दिन नेप्सेमा ३ अर्ब ९९ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

मंसिर महिनापछि शेयरबजार पुनः क्रमिक रुपमा बढ्दै गयो । २२ सयको विन्दु सम्म पुगेको नेप्से परिसूचक बढ्दै बढ्दै माघ ३ गते २९४७.४४ को विन्दुमा पुग्यो । त्यसलगत्तै फेरी नेपालको पूँजीबजार ओरालोको बाटो समात्यो । यस बर्ष शेयरबजारमा निकै ठूला उतारचढावहरु आइरहे । यसै वर्ष शेयरबजारमा नयाँ लगानीकर्ताहरु धेरै भित्रिए पनि भदौ महिनापछिको शेयरबजारमा खासै उत्साहप्रद देखिएन ।

माघ महिनापछि शेयर बजार निरन्तर ओरालो लाग्न थाल्यो । लगानीकर्ताहरुको संख्या थपिएर १२ लाख हाराहारीमा पुगेतापनि कारोबार ५ अर्बको हाराहारीमा सीमित हुन पुग्यो । देशमा विस्तारै आर्थिक संकट बढ्न थाल्यो यसका कारण शेयरबजारमा प्रतिकूल प्रभाव पर्न गयो । बढीमा ६।७ अर्ब र न्यनूतम २ अर्बसम्मको कारोबार हुँदै शेयरबजारमा उतारचढावका बीचमा अघि बढिरहेको छ ।

पछिल्ला केही दिनयताको शेयरबजारको नेप्से इन्डेक्स हेर्दा बढीमा २५ सयको विन्दु कायम भएको थियो भने न्यूनतम २३ सयको विन्दु कायम भएको थियो । केही महिनायता निरन्तर गिरावट आएको शेयरबजारमा आज यस वर्षको अन्तिम दिन ३० अंकले शेयरबजार बढेर नेप्से इन्डेक्स २४१५.२५ को विन्दुमा कायम हुन पुग्यो । २०७८ सालको अन्तिम दिन बुधबार एक अर्ब ४७ करोड रुपैयाँ माथिको कारोबार भएर २०७८ साल विदाई भएको छ ।

सेयर बजारले वर्ष २०७८ को सुखद् बिदाइ गरेको छ । लगातार घटिरहेको बजारमा वर्षको अन्तिम दिन हरियाली छाएको छ । बजार आज ३०.२४ अंकले उकालो लागेको छ । यो सँगै नेप्से परिसूचक २४१५.२४ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचांक सेन्सेटिभ इन्डेक्स पनि ६.९७ अंकले बढेर ४५६.०९ को विन्दुमा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*