धितोपत्र बजार पूँजीकरण ३७ खर्ब ८२ अर्ब रुपैयाँ, साढे २ खर्बको धितोपत्र सूचीकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको वित्तीय सूचांक सार्वजनिक गरेको छ । आज प्रकाशित उक्त वित्तीय सूचकाङ्कअनुसार २०७८ फागुन मसान्तसम्ममा धितोपत्र बजार पूँजीकरण ३७ खर्ब ८२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
गत आवमा यसै अवधिसम्ममा धितोपत्र बजार पूँजीकरण ३३ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, चालु आवको फागुन मसान्तसम्ममा नेप्से सूचकांक २६६८.१ पुगेको छ । २०७७ फागुन मसान्तसम्ममा नेप्से सूचकाङ्क २४५८.५ रहेको थियो ।
साथै चालु आवको फागुन महिनासम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २२८ पुगेको छ । जसमा १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूह रहेका छन् ।
सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरण हिस्सा ६६ प्रतिशत रहेको छ । साथै जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको शुन्य दशमलव ४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा १०.३ प्रतिशत रहेको छ ।
त्यस्तै, फागुन मसान्तसम्ममा नेप्सेमा सूचीकृत ६ अर्ब ६१ करोड शेयरको चुक्तामूल्य ६ खर्ब ५१ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।
आव २०७८।०७९ को आठ महिनाको अवधिमा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेञ्चर, ३७ अर्ब १६ करोड रुपैयाँ बराबरको बोनस शेयर, २९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, १७ अर्ब ८३ करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ), ९ अर्ब १८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचिकृत भएका छन् ।
समिक्षा अवधिसम्ममा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेञ्चर, ३ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड, २ अर्ब ८४ करोड रुपैयाँ बराबरको साधारण शेयर गरी कुल १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।