अर्थमन्त्री शर्मा गभर्नर अधिकारीप्रति असन्तुष्ट, राष्ट्र बैंकको अनुशासन भएन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री शर्माले मिडियालाई दिन नहुने सूचना मिडियालाई दिएको भन्दै गभर्नरसँग असन्तुष्टी व्यक्त गरेक हुन् ।
उनले राष्ट्र बैंक नियमनकारी निकायमात्र नभएको भन्दै अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्ने संस्था भएको भन्दै त्यसमा जिम्मेवार नभएकोमा असन्तुष्टी व्यक्त गरे ।अर्थमन्त्री शर्मा बोल्नु अगाडि बोलेका गभर्नर अधिकारीले अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने खतरा देखाएका थिए । त्यसमा अर्थमन्त्री शर्माले नेपाली अर्थतन्त्र श्रीलंकाको बाटोमा जान लागेकोमा आंतकित नपार्न समेत अनुरोध गरे ।अर्थतन्त्रमा समस्या भएपनि श्रीलंकाको बाटोमा नगएको भन्दै सुधार गर्ने विषयमा बहस गर्न आग्रह गरे । उनले राष्ट्र बैंकलाई अनुसासनमा रह्न आग्रह गरेका छन् ।
पर्यटकको संख्या बढाउन विभिन्न नीतिहरु बनाएको र काम गरिरहेको भन्दै सेवा क्षेत्रमा खास गरेर सूचना प्रविधि क्षेत्रबाट फरक ढंगले विदेशी मुद्रा ल्याउन सक्ने सम्भावना रहेको बताए ।उनले प्रश्न गर्दै भने ’ यदि पैसा ल्याउन नपाइने भए यो यो कारणले ल्याउन पाइदैन भन्दिनु परो, पत्रिकाबाजी गर्ने ? सबैले आफ्नो मर्यादा राख्नु पर्दैन? प्रवक्ताले मन्त्रीले यसो भनेकै हो भनेर पत्रिकालाई प्रतिक्रिया दिने ? त्यहि हो तरिका? त्यहि हो अनुशासन ? सबैको संस्थागत अनुशासन हुनु पर्दैन ? ’ यस्ता कुरा सच्याउनु पर्ने उनले बताए ।
राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दिएको सुझावको सुची पनि अर्थ मन्त्रालयमा आउनु अघि मिडियालाई दिएको भन्दै उनले अशन्तुष्टी व्यक्त गरे । उनले यस्ता सुझाव कार्यन्वयन नहुदै मिडियामा आउँदा त्यसले अर्थतन्त्रलाई असर गर्ने बताए । सुझावमा अत्यावश्यक बाहेक वस्तुको सामान आयात बन्द गर्ने उल्लेख रहेको र त्यो सुझाव मिडियामा आएपछि कुन कुन बैंकले कति कति के के सामान आयात गर्न एलसी खोलेका छन् त्यसको विवरण आफुलाई पठाउन अर्थमन्त्रीले निर्देशन दिएका छन् ।