ग्लोबल आइएमई र नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । दुई लघुवित्त कम्पनीले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । ग्लोबल आइएमई लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।
ग्लोबल आइएमई लघुवित्तले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेकोमा मंसिर २८ गते सम्पन्न भएको नवौं साधारण सभाले पारित गरेपछि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।
साथै लघुवित्तले सो बोनस शेयरमा लाग्ने कर वापतको रकम समेत जम्मा गर्न आग्रह गरेको छ । संस्थाले शेयर वापतको कर जम्मा गर्नको लागि ग्लोबल आइएमई बैंक लिमिटेड, शाखा कार्यालय, पोखरा न्युरोडमा रहेको खाता नं १२०१०१००००३७० मा जम्मा गर्न आग्रह गरेको छ ।
साथै नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ४० प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।
कम्पनीले पुष २६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । साथै सो समयपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमशः बोनस शेयर जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीले माघ ६ गते सम्पन्न ८औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त लाभांश जम्मा गरिदिएको हो ।