ग्रीन भेन्चर्सको आइपीओ भोलि बाँडफाँड हुँदै, १८ लाख ७० हजारको हात खाली हुने पक्का
काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को बाँडफाँड भोलि (चैत २०)गते हुँदैछ ।
उक्त साधारण शेयरको प्रि–अलटमेन्ट चैत १५ गते नै सम्पन्न भइ आईपीओ भोलि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ८ः३० बजे बाँडफाँड हुने क्यािपटलले जानकारी दिएको हो ।
कम्पनीको आइपीओ पाउन भाग्यकै भरपर्नु भएको छ । उक्त आइपीओमा ९.०२ गुणा बढी आवेदन परेको कारण गोलाप्रथाबाट नै आइपीओ बाँडफाँड हुनेछ । यसअनुसार २ लाख ८७ हजार ५०० जनाले मात्र सो कम्पनीको शेयर प्राप्त गर्नेछन् भने बाँकी १८ लाख ७० हजार १३१ जनाको हात भने खाली हुनेछ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।