ढुवानी बन्द भएपछि देशैभर पेट्रोलियम पदार्थको हाहाकार, काठमाडौंका पम्पहरुमा घण्टौं लाइन बस्नुपर्ने सास्ती
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेपछि देशैभरका पेट्रोल पम्पमा सवारी चालकहरुको घुइँचो बढेको छ । पेट्रोलियम पदार्थको अभाव हुने डरले विशेषगरी काठमाडौंका पेट्रोल पम्पहरुमा आज पेट्रोल भर्नेहरुको लाइन बढेको छ ।
महासंघले आयल निगमसँग विभिन्न माग राख्दै पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेपछि पेट्रोल तथा डिजेलको अभाव भई पम्पहरुमा शुक्रबारदेखि नै चाप बढेको हो । पेट्रोलियम पदार्थ ढुवानीकर्ताको आन्दोलनका कारण आपूर्ति नभएर पेट्रोलियम पदार्थ अभाव हुन सक्ने भन्दै सवारी चालकहरु पम्पमा लाइन लागेका हुन् ।
महासंघले निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुुवानी बन्द गरेसँगै पम्पहरुमा पेट्रोलियम पदार्थको अभाव बढ्दै गएको हो ।
साथै पेट्रोलियम ढुवानी महासंघले आफुहरुले माग गरेको कुरा पूरा आयल निगमले सम्बोधन नगरेमा भोलिदेखि नै पेट्रोलियम पदार्थको मूल्य बिक्री वितरण बन्द गर्ने समेत चेतावनी दिएको छ । यस विषयमा अहिलेसम्म निगमले कुनै पनि प्रेस विज्ञप्ति जारी गरेको छैन ।