बलेफी हाइड्रोपावरको आइपीओमा एकैदिन ४ लाख ३३ हजारको आवेदन
काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलार्ए निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा पहिलो दिन मै ४ लाख ३३ हजार ४७१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार बुधबार साँझ ५ बजेसम्म ५२ हजार २२ लाख ४८ हजार बराबरको ५२ लाख २२ हजार ४८० कित्ताका लागि आवेदन परेको हो ।
जुन आवेदन माग भन्दा ३ दशमलव १३ गुणाले बढी हो । विभिन्न कम्पनीहरुले लगातार आइपीओ निष्काशन गर्ने क्रममा सो कम्पनीले पहिलो चरणमा स्थानीय वासिन्दाका लागि आइपीओ जारी गरेर सर्वसाधारणका लागि पनि शेयर निष्काशन गरेको हो ।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा चैत २१ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।