अपि पावरको शेयरमा न्यौपानेको चलखेल

१६ चैत्र २०७८, बुधबार ११:४७

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर बेच्न कम्पनीका संस्थापक अध्यक्ष तथा सल्लाहकार गुरु प्रसाद न्यौपानेले चलखेल गरेको पाइएको छ । ‘फादर अफ नेप्लिज हाइड्रोपावर सेक्टर’ को रुपमा चिनिने न्यौपाने हकप्रद शेयरमा चलखेल गरेको भन्दै विवादमा मुछिएका हुन् ।

न्यौपानेको अपि पावर कम्पनीसहित आधा दर्जन भन्दा बढी हाइड्रोपावर कम्पनी, सोलार कम्पनी, कृषि उद्योग र केही बाणिज्य बैंकहरुमा समेत उनको लगानी रहेको छ । तुलनात्मक हिसाबमा जलविद्युत कम्पनीहरुमा धेरै लगानी रहेको न्यौपाने हाइड्रोपावर कम्पनीहरुको विकास लागि भन्दै दिएको अभिव्यक्तिका कारण पटक।पटक विवादमा पर्ने गर्दछन् । अपि पावरले चैत २५ गतेदेखि तेस्रो पटक जारी गर्न लागेको हकप्रद शेयरमा चलखेल भएको आरोपमा उनी विवादमा मुछिन पुगेका हुन् ।

उनले शेयर बजारलाई प्रभावित गर्दै लगानीकर्तालाई हकप्रद खरिद गर्न अभिप्रेरित गरेपछि धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३’ ले व्यवस्था गरे विपरित काम गर्दा हुने कारबाही गर्ने तयारी थालेको हो ।

न्यौपानेले चैत २५ गतेदेखि जारी हुन लागेको अपि पावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८ लाख ६० हजार कित्ता हकप्रदको कम्पनीले चैत १४ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् हकप्रद खरिदका लागि व्यापक ‘प्रोपागाण्डा’ फैलाएका थिए । सो सम्मेलनमा उनले अपि पावर कम्पनी लाभांश क्षमता लगायतका वित्तीय सूचांकमा अन्य कम्पनीभन्दा अघि रहेको बताउँदै हकप्रद खरिदको प्रचार गरेका थिए जुन धितोपत्र बोर्डले व्यवस्था गरेको नियमावली विपरित थियो ।

सो नियमालीको नियम नम्बर १७ मा सूचीकृत कम्पनीले प्रकाशन गरिने विवरणपत्र, आह्वानपत्र, हकप्रद शेयर सम्बन्धी विवरण, प्रकाशन गरिने विवरणपत्र, आह्वानपत्र, हकप्रद शेयर सम्बन्धी विवरण, बिक्री प्रस्ताव तथा बोर्डले विवरण तयार गरी पेश गर्नुपर्ने भनि तोकेको अन्य विवरणहारुमा निष्काशन सम्बन्धी सूचना वा जानकारी बाहेक संगठित संस्थाको अन्य वस्तु वा सेवाको प्रचार प्रसार सम्बन्धी कार्य गर्न पाइने छैन । भन्ने व्यवस्था रहेको छ ।

यसअनुसार कम्पनीले कहिलेदेखि र के कति कित्ता शेयर जारी गर्न लागेको त्यो खुलाउन मिल्छ, तर लगानीकर्ताहरुलाई हकप्रद खरिद गर्न प्रभावित गराउन बोर्डको नियमावली अनुसार मिल्दैन ।

न्यौपानेले बोर्डको ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ को व्यवस्था उल्लंघन गर्दै पत्रकारहरुलाई आफ्नो कम्पनी राम्रो भएको र अन्य वित्तीय अवस्था नराम्रो हुने कम्पनीहरुको शेयरमूल्य बढी भएको भन्दै अपि पावर कम्पनीको प्रचार गरेका थिए । यसरी संस्थापक अध्यक्षले नै हकप्रद शेयर खरिद गर्न लगानीकर्तालाई प्रभाव पार्ने खालका अभिव्यक्ति दिएपछि नेपाल धितोपत्र बोर्डले छानबिन प्रक्रिया अघि बढाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*