अर्काको जग्गामा झुक्याएर ४५ लाख रुपैयाँ बैना लिने ध्रुव घिमिरे पक्राउ

६ चैत्र २०७८, आईतवार २२:०९

काठमाडौं । आफ्नो नाममा हुँदै नभएको जग्गा आफ्नो हो भनी झुक्याएर जग्गा बैना बापत भनि ४५ लाख रुपैयाँ लिने ध्रुव घिमिरेलाई प्रहरी पक्राउ गरी कानुनी कारवाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया ती महिलालाई जग्गा खरिदका लागि मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको चार आना जग्गा नाप जाँच गरी राजिनामा पास गरी दिने भनी लोभ देखाएर ठगी गरेको फेला परेपछि मुद्दा प्रक्रिया अघि बढेको छ ।

भक्तपुर साविक दुवाकोट गाविस–१ मा रहेको जग्गाप्रति आना २१ लाखका दरले मूल्य तय गरी विभिन्न बैंकको चेकबाट पटकपटक गरी ४५ लाख ५० हजार लिएर सम्पर्क विहीन भएपछि महिलाले आफू ठगीमा परेको थाहा पाएको प्रहरीले जनाएको छ । रकम ठगी गर्ने कार्यमा संलग्न अभियोगमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–४ बस्ने ललितपुर महानगरपालिका–३ का ४९ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–१ दरबार मार्गबाट पक्राउ गरी अनुसन्धान थालेको हो । उनलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका–२ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई आज प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ असोज १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा रु २० लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

धिमालले प्राइम बैंक लिमिटेड बागबजारको आफ्नो नामको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा उक्त चेक नसाटिएपछि मुद्दा परेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।

घटना विवरण :
जिल्ला मोरङ बेलबारी न.पा. वडा नं. ३ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ बस्ने वर्ष ४० की सीमा सुवेदीले जग्गा खरिद गर्नको लागि खोजी गर्ने क्रममा ध्रुव प्रसाद घिमिरेसँग चिनजान हुँदा निज ध्रुव प्रसाद घिमिरेले मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको भक्तपुर जिल्ला साविक दुवाकोट गा.वि.स. वडा नं.१ (ग) १ का कित्ता नं. ८०३, ७२८, ७२९ का जग्गाहरू मिति २०७७/०९/२३ गते देखाई उल्लेखित कित्ताहरू मध्येको कि.नं. ७२८ बाट कित्ताकाट गरी प्रतिआना रू.२१,००,०००।–( अक्षेरुपी एक्काइस लाख) को दरले ४ आना जग्गा नापजाँच गरी राजिनामा पास गरी दिने भनि विश्वास दिलाई जाहेरवालाको नामको राष्ट्रिय बाणिज्य बैंक थापाथली शाखाको चेकबाट र ग्लोबल आईएमई बैक शंखमुल शाखाको चेकबाट पटक पटक गरी जम्मा रू. ४५,५०,०००।– (अक्षेरुपी पैँतालिस लाख पचास हजार) चेक मार्फत् रकम लिई केहि समय पश्चात् सम्पर्क विहिन भएपछि मिति २०७८/११/०६ गते मालपोत कार्यालय भक्तपुरमा गई बुझ्दा बिक्री गर्ने भनी बैना गरेको उक्त जग्गा अर्कै व्यक्तिको नाममा राजिनामा पास गरी बिक्री गरेको थाहा भएपछि निज ध्रुव प्रसाद घिमिरेले ठगी गरेको थाहा पाई कानून बमोजिम कारवाही गरी पाउँ भनी जाहेरी दरखास्त महाशाखामा प्राप्त भएको र अनुसन्धानको क्रममा निज ध्रुव प्रसाद घिमिरेले ठगी गरेको खुल्न आएको हुँदा सम्मानित काठमाडौँ जिल्ला अदालतको पक्राउ अनुमति लिई यस महाशाखाबाट खटिएको विशेष टोलिले मिति २०७८।१२।०४ गते साँझ १८:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १ दरबारमार्गबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाईएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*