२१% लाभांश पारित गर्नका लागि आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २७ गते बस्नेगरी आह्वान गरेको हो ।
कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोक बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको २१ प्रतिशत बोनस शेयर पारित गर्नेछ ।
साथै संचालकहरुको भत्ता, सुविधा बृद्धि गर्ने, कुनै एक बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने गाभिने वा मर्जरमा जाने विषयलाई सशोधन गर्ने प्रस्तावहरु समेत सो सभाले पारित गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिेक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७।०७८ अन्तिम सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै देउराली लघुवित्तलाई प्राप्ति गरेपश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विनोद ज्ञवालीको अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।
संस्थाले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि शेयरधनी दर्ता किता (बुकक्लोज) चैत १७ गतेदेखि चैत २७ गतेसम्मको मिति तोकेको छ । यसअनुसार चैत १६ गतेसम्म नेप्सेमा कायम रहेको शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।