नौ बीमा कम्पनीसहित १६ कम्पनीको साधारण सभा र बुकक्लोज हुन बाँकी, कसको लाभांश कति ?

२२ फाल्गुन २०७८, आईतवार १४:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सूचीकृत १६ कम्पनीले लाभांश घोषणा गरेको छ । जसमा ९ इन्स्योरेन्स कम्पनी, ५ लघुवित्त कम्पनी र २ बैंक रहेका छन् । उक्त कम्पनीहरुले वार्षिक साधारण सभा र बुकक्लोको मिति तोकेका छैनन् । सो कम्पनीहरु नियमक निकाय बीमा समिति र नेपाल राष्ट्र बैंकको लाभांश प्रस्ताव स्वीकृतिको पर्खाइमा रहेका छन् ।

बीमा कम्पनी
बीमा कम्पनीमा अधिकांश निर्जीबन बीमा कम्पनीहरु रहेका छन् । जसमा सगरमाथा, एभरेष्ट, आइएमई जनरल, प्रुडेन्सियल, सिद्धार्थ, एनएलजी, प्रभु र लुम्बिनी जनरल इन्स्योरेन्स रहेका छन् । त्यस्तै, एक जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश प्रस्वाव गरेको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले सो प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।

त्यस्तै, एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले सो प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । साथै आइएमई जनरल इन्स्यारेन्सले पनि गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन ५ गते बसेको संचालक समितिले उक्त लाभांश दिने निर्णय गरेको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्सले पनि आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीलाई ९.५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ४७६१९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको संचालक समितिको माघ २४ गते बसेको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले आव २०७७।०७८को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले पनि सोही आवको मुनाफाबाट आफ्ना शेयधरनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश कम्पनीको माघ १३ गते बसेको संचालक समितिले वितरण गर्ने निर्णय गरेको थियो ।

प्रभु इन्स्योरेन्स लिमिटेडले पनि गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नौ बीमा कम्पनीमध्ये ८ निर्जीबन बीमा कम्पनी रहेका छन् भने एक जीवन बीमा कम्पनी रहेको छ । सो कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

लघुवित्त कम्पनी
पाँच लघुवित्त कम्पनीमा नयाँ सारथी लघुवित्त, जीवन विकास लघुवित्त, आरम्भ चौतारी लघुवित्त, किसान लघुवित्त र स्वाभिवमान लघुवित्त रहेको छ ।

नयाँ सारथी लघ्ुवित्तले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, जीवन विकास लघुवित्तले आइपीओ निष्काशन गरेको पहिलो बर्ष अर्थात् २०७७।०७८ को मुनाफाबाट ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको फागुन ७ गते बसेको संचालक समितिले सो निर्णय गरेको हो ।

साथै आरम्भ चौतारी लघुवित्तले पनि सोही आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै गत आर्थिक वषैकै मुनाफाबाट किसान लघुवित्तले २५ प्रतिशत बोनस शेयर र स्वाभिमान लघुवित्तले ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक
लाभांश प्रस्ताव स्वीकृत हुन पर्खाइमा रहेका दुई बैंकमा गरिमा विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छ । गत आर्थिक वर्षको मुनाफाबाट गरिमा विकास बैंकले १६ प्रतिशत बोनस शेयर र लुम्बिनी विकास बैंकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

गरिमा विकास बैंकको पुष २२ गते र लुम्बिनी विकास बैंकको कात्तिक २६ गते बसेको संचालक समितिको बैठकले आ–आफ्ना शेयरधनीलाई सो प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बीमा कम्पनीको हकमा नियमक निकाय बीमा समितिबाट स्वीकृति प्रदान हुन बाँकी समितिबाट स्वीकृत प्राप्त पाएपश्चात् यी कम्पनीहरुले साधारण सभाको मिति तय गर्नेछन् । साथै बैंक तथा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत हुन बाँकी छ । सो कम्पनीहरुले पनि वार्षिक साधारण सभाको मिति तोकेका छैनन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*