काठमाडौं उपत्यकामा सबै प्रकारको लकडाउन हट्यो, फिल्म हलदेखि विद्यालयसम्म सबै खोल्न पाइने
काठमाडौं । काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)ले शुक्रबार जारी गरेको आदेशानुसार आजदेखि लागू हुनेगरी ति प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमितरुपमा सञ्चालन गर्न सकिने छ ।
ती प्रशासन कार्यालयले कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न÷गराउन भनी नयाँ आदेश जारी गरेको हो । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न भनेको छ ।
यसअघि अन्तिम पटक माघ २३ गते राति १२ बजेदेखि लागू हुनेगरी जात्रा, महोत्सव, सभा, जुलुसलगायत धेरै मानिस भिडभाड हुने गतिविधि सञ्चालनमा रोक लगाउने गरी स्थानीय प्रशासनले आदेश जारी गरेको थियो । उक्त आदेशमा फागुन १ गतेबाट शैक्षिक क्षेत्रका अधिकांश गतिविधि खुला गरिए पनि केही प्रतिबन्धात्मक व्यवस्था कायम राखिएका थियो ।
यस्तै सपिङ मल सुपरमार्केटलगायतमा मानिस भीडभाड हुने क्षेत्रमा ५० जना भन्दा बडी भेला नहुने गरी खोप लगाइएका व्यक्तिलाई मात्रै प्रवेश दिन आदेशमा भनिएको थियो । यस्तै डान्सबार दोहारी सञ्चालन हुने स्थानमा पनि केही प्रतिबन्धात्मक व्यवस्था कायमै थियो ।
कोरोनाको तेस्रो लहर भित्रिएपछि गत पुस २७ बाट उपत्यका प्रशासनले आदेश जारी गर्दै प्रतिबन्धात्मक व्यवस्था लागू गर्न सुरु गरेको थियो । ती प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।