नेपाल विद्युत प्राधिकरणले पायो‘डबल ए प्लस’ क्रेडिट रेटिङ, आइपीओ निष्काशन गर्ने बिषयमा छलफल

१५ फाल्गुन २०७८, आईतवार १४:१७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ। इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो। नेपाल विद्युत प्राधिकरणले आइपीओ निष्काशन गर्ने बिषयमा छलफल गर्ने भएको छ।

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ। डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ।

क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ। यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रुपमा राय दिइन्छ।

इक्राले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो। सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक निकायहरुमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकोले वित्तीय दायित्व वहन गर्न सक्ने उच्चतहको सुरक्षित क्षमता देखिएको बताए।

यता, कार्यकारी निर्देशक घिसिङले सरकारको स्वीकृतिमा नेपाल विद्युत प्राधिकरण ऐनमा भएको व्यवस्था बमोजिम सर्वसाधारणलाई सेयर जारी गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी गराएका छन् । ‘विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो, अब सबै वित्तीय सुचकांकहरुमा उल्लेख्य सुधार आइसकेको छ, क्रेडिट रेटिङबाट पनि प्राधिकरणमा लगानी सबै हिसाबाट सुरक्षित रहेको विश्लेषण गरिएको छ, अब ऐनमा भएको व्यवस्था अनुसार सेयर निश्कासन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढाउछौं’, घिसिङले भने ।

ऐनमा प्राधिकरणको सेयर पुँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । प्राधिकरणले निश्कासन गरेको सेयरमध्ये नेपाल सरकारले खरिद गरी बाँकी रहेको सेयर मात्र सर्वसाधारण जनतालाई बिक्री गरिने व्यवस्था रहेको छ । सरकारले प्राधिकरणको देस्रो वित्तीय पुनर्संरचनाअन्तर्गत सेयर निश्कासनका लागि सहमति दिइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*