युक्रेनको राजधानी छिर्यो रुसी सेना, भिषण युद्ध जारी

१५ फाल्गुन २०७८, आईतवार ०९:३८

काठमाडौं । युक्रेन र रसियाबीचको युद्ध तेस्रो दिनमा प्रवेश गरेको छ । रसियाली सेनाको ट्याङ्कहरु युक्रेनको राजधानी किभमा कुदिरहेको भिडियो सिएनएनले प्रशारण गरेको छ ।

राजधानी किभलाई रुसी सेनाको नियन्त्रणबाट जोगाउन हजारौं युक्रेनी जनताले हतियार उठाएको भिडियो न्यूयोर्क टाईम्सबाट प्रशारण भएको छ । राजधानी किभमा भिषण भिडन्तहरु भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हालसम्म १९८ जना मानिसको मृत्यु भएको सो युद्धमा अर्बौको भौतिक सम्पत्तिको क्षति भइसकेको छ । जारी युद्धमा रसियाले पनि ठूलो क्षति व्यहोरेको छ । युक्रेन सरकारले जनाए अनुसार दुई हजार ८०० भन्दा बढि रसियाली सेना, दर्जनौं ट्याङ्क र आधा दर्जन लडाकु जहाज खसालिएको दावी गरेको छ । उता, रसियाले आफ्नो क्षतिको सम्बन्धमा केही बताएको छैन ।

युक्रेनमाथि आक्रमण गरेपछि रसियामाथि नेटो सम्बद्ध राष्ट्रहरुले कडा नाकाबन्दीको घोषणा गरेका छन् । त्यस्तै, युरोपेली मुलुकहरुले रसियामाथि कडा आर्थिक नाकाबन्दी लगाएको घोषणा गरेका छन् । केही रसियाली बैंकहरुलाई स्वीफ्ट कोडबाट अगल गर्ने घोषणा गरिएको छ ।

कडा नाकाबन्दीका बीचमा रसियाले युक्रेनमाथिको आक्रमण जारी राखेको छ ।

युक्रेनका अग्ला भवनहरुमा समेत मिसाईल प्रहारमार्फत रसियाले ध्वस्त पारेको छ । रसियाली हवाई आक्रमणबाट ध्वस्त भएका युक्रेनका भवन तथा भौतिक सम्पत्तिहरुको बीमा दावी पाउने सम्भावना न्यून छ । युद्धमा ध्वस्त भएका संरचनाको बीमा दावी भुक्तानी नगर्ने बीमाको सिद्धान्त भएकोले युक्रेनमा भएको क्षतिका बीमा दावी भुक्तानी नपाउने सम्भावना रहेको हो ।

केहीबेर अघि युक्रेनका राष्ट्रपति भोलोडेमेर जेलेनेस्की रहेको भवनमाथि हवाई हमला गरिएको छ । राष्ट्रपति भवनमाथि आक्रमण भएपछि उनलाई बंकरमा लुकाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपि उनले युद्ध सुरु भएदेखि नै लगातार सडकमा उत्रिएर राईफल बोकेर हतियार उचाल्दै रसियालाई कडा जवाफ दिने चेतावनी दिँदै आएका छन् । हजारौं सर्वसाधारणलाई युद्ध मैदानमा उतार्दै उनले रुसी सेनालाई ध्वस्त पार्न आह्वान गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*