जनरल इन्स्योरेन्स कम्पनीको ५१ करोड जोखिममा, अध्यक्ष कयाल दोस्रो काण्डमा फस्दै !

१० फाल्गुन २०७८, मंगलवार १६:४४

काठमाडौं । खिलुङ कालिका काण्डमा झण्डै तीन करोड रुपैयाँ क्षति व्यहोरेको जनरल इन्स्योरेन्स कम्पनी अर्को ५१ करोडको काण्डमा फस्ने सम्भावना देखिएको छ । केही दिनअघि भिषण आगोलागीमा परेर ध्वस्त भएको झापाको चारआलीस्थित मनसा थाई फुडमा करिब एक अर्बको क्षति भएको प्रारम्भिक अनुमान छ । सो मध्ये मेशिनरी तथा गोदामको करिब ५१ करोडको मूल्याङ्कन गरी बीमा गरेको जनरल इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको थियो ।

बीमितसँग रकम लिएको जनरल इन्स्योरेन्स कम्पनीले पुनर्बीमा कम्पनीलाई भने रकम नतिरेका कारण समस्या पर्न सक्ने देखिएको हो । भारतीय पुनर्बीमा कम्पनी जेन रिले आगोलागीको घटना भई क्षति भइसकेपछि मात्रै बीमा रकम प्राप्त गरेकोले अब उक्त काण्ड भारतीय पुनर्बीमा कम्पनी जिआईसी रिको निर्णयमा भर पर्नुपर्नेछ ।

एक अर्ब चुक्ता पुँजि भएको जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष कुनाल कयालले सही नीति अवलम्वन गर्न नसक्दा, सिईओ रामचन्द्र श्रेष्ठले पुनर्बीमा कम्पनीलाई बुझाउनुपर्ने रकम पिपिडब्लु अवधीभित्र भुक्तानी गराउन नसक्दा तथा लेखाले समयमा भुक्तानी गरी जोखिमबाट सुरक्षित रहन नसक्दा जनरल इन्स्योरेन्स कम्पनी संकटमा पर्न लागेको हो ।

बीमा कम्पनी र पुनर्बीमा कम्पनीका बीचमा भएको सहमतिको आधारमा पुनर्बीमाको दावी भुक्तानी हुनेछ । दुई कम्पनीका बीचमा सम्झौता गर्दा उल्लेख गरिएको प्रिमियम भुक्तानी गर्ने अवधी (पिपिडब्लु) अवधी ३० देखि ९० दिनसम्म राखिएको हुन्छ । सो अवधीभित्र घटना भएमा पुनर्बीमा कम्पनीले जोखिम बहन गर्न बाध्य हुनेछन् भने सो अवधी नाघिसकेपछि भुक्तानी भएको भए पुनर्बीमा कम्पनीले दावी भुक्तानी गर्न बाध्य हुँदैन, विवेकमा भर पर्नेछ । यद्यपि बार्षिक करोडौं रुपैयाँ पुनर्बीमा शुल्कको कारोबार हुने हुँदा भारतीय पुनर्बीमा जेन रीले ५१ करोडकै लागि व्यवसाय दाउमा नलगाउन सक्छ । भर्खरै घटना भएको र जिआईसी रि पुनर्बीमाले पनि शुल्क बुझिसकेकोले अहिले नै जनरल इन्स्योरेन्स कम्पनीले ५१ करोड रुपैयाँ नपाउने भनेर भन्नु भने गलत हुनेछ ।

तर, यस घटनाबाट नेपालका सबै पुनर्बीमा कम्पनीहरु सचेत हुनु भने अनिवार्य छ । साथै नियामक निकायले समेत पुनर्बीमा कम्पनीलाई बुझाउनुपर्ने रकम समयमा भुक्तानी गरे नगरेको चेक जाँच गर्नु आवश्यक छ ।

जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष कुनाल कयाल, र लेखा प्रमुख निल बरालीका कारण पछिल्लो पटक मनसा थाई फुडमा समस्या पर्न सक्ने सम्भावना देखिएको हो । स्रोतका अनुसार जनरल इन्स्योरेन्स कम्पनीले मनसा थाईफुडसँग बीमा शुल्क उठाएपछि भारतीय पुनर्बीमा कम्पनी जिआईसी रि कम्पनीलाई भुक्तानी गरेको थिएन । मनसा थाईफुडमा आगजनीको घटना भएपछि भारतीय पुनर्बीमा कम्पनीलाई रकम भुक्तानी गरेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*