राष्ट्र उत्थान लघुवित्तको आइपीओ यसै साता बाँडफाँड हुने तयारी
काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हाल उक्त आईपीओको डाटा भेरिफिकेसनको काम चलिरहेको हुँदा सकेसम्म यसै साता गर्ने तयारी भईरहेको जनाएको छ।
प्राविधिक समस्याका कारण डाटा भेरिफिकेसनको कार्य सम्पन्न गर्न समय लागिरहेको क्यापिटलले जनाएको छ। डाटा भेरिफिकेसनको काम जतिसक्दो चाँडै गरी यही साताको अन्तिममा बाँडफाँड गर्ने क्यापिटलको तयारी छ ।
संस्थाको आईपीओमा अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६ सय २६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ३८.४२ गुणा धेरै आवेदन हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ५५ हजार १ सय ७६ जनाको भने हात खाली हुनेछ ।