डिम्याट खाता खोल्नेको संख्या झन्डै ५० लाख नजिक, के हो डिम्याट खाता, कसरी खोल्ने ?
काठमाडौं । लामो समयदेखि नेप्से र नेपाल धितोपत्र बोर्डमा सिईआ नियुक्त हुन नसक्दा आइपीओ पाइपलाईन रहेका थियो ।दुबै संस्थामा सिईओ नियुक्त हुने प्रकृया अघि बढेसँगै आइपीओ निष्काशनको लर्को नै लागेको छ। एक साता नबित्दै कम्पनीहरुको आइपीओ निष्काशन भईरह्दा नयाँ डिम्याट खोल्नेको सङख्या पनि बढ्दै गएको छ।
झन्डै ५ महिनापछि नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओको अनुमति दिएको थियो। तीमध्ये केही कम्पनीले आईपीओ जारी गरिसकेका छन् भने केही आईपीओ निष्कासनको तयारीमा छन्।
योसँगै आईपीओ भर्नकै लागि डिम्याट खोल्नेको संख्या पनि बढ्न थालेको हो।सीडीएससीका अनुसार आजसम्म डिम्याट खाता खोल्नेको संख्या झन्डै ५० लाख पुगेको छ।अहिलेसम्म डिम्याट खाता खोल्नेको संख्या ४९ लाख ७२ हजार ९०२ पुगेको सीडीएससीले जनाएको छ।
दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नजिक पुगेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४० लाख ८२ हजार ६१५ पुगेको छ।‘मेरो सेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ। सेयर बेचेपछि प्रयोगकर्ताले मेरो सेयरमार्फत आफूले बेचेको सेयर ईडीआईएस (सेयर हस्तान्तरण) गर्नुपर्छ।
के हो डिम्याट खाता ?
अंग्रेजी शव्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शव्द नै डिम्याट हो। नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ।विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो। अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे।
२०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो। हाल सेयर अभौतिक रुपमा अर्थात यहीं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ। जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफैं जम्मा हुन्छ।
आइपिओ भरेपछि परेमा खातामै जम्मा हुन्छ। त्यस्तै दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ। यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो।
कसरी, कहाँ खोल्ने खाता ?
यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरुमा खोल्न सकिन्छ। सहायक कम्पनी भएका बैंकहरुले नै यस्तो खाता खोलिदिन्छन्।
त्यस्तै ब्रोकर कम्पनीहरुमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ। यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ।७६ वटा यस्ता निक्षेप सदस्य छन्। यस्तो खाता खोल्नका लागि बैंक खाता नम्वर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ। आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ।
धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन्। केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन्। डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ। सो नम्वर पाएपछि मात्रै तपाईंले प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से) बाट खरिदबिक्री गर्न सक्नुहुनेछ।
आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति सेयर छरु त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा सेयर जम्मा भएरनभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ। यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन्।