राष्ट्र बैंकले शेयर बजारलाई अनुत्पादक क्षेत्रमा गणना गर्ने त्रासले ३९ अंकले घट्यो नेप्से
काठमाडौं । काठमाडौं । राष्ट्र बैंकको मौद्रिक नीति समीक्षामा सुधार कुरेका लगानीकर्ता निराश हुँदा नेप्से परिसूचक घटेको छ। मौद्रिक नीतिको समीक्षा स्थिर रहँदा पनि लगानीकर्ता विश्वस्त नहुँदा सेयर बजारमा गिरावट आएको छ।
गत बिहीबार नेपाल राष्ट्र बैंकले ६ महिनाको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको थियो। समीक्षामा स्थिर राखे पनि अनुत्पादक क्षेत्रको रुपमा घरजग्गा र सेयरलाई राख्ने त्रासका कारण सेयर बजार घटेको हो। गत साता घटबढको उतारचढाव आएको पूँजीबजारमा यस साताको पहिलो दिनमै ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेको छ ।
पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत साता २ अर्ब सम्म कारोबार खुम्चिएकोमा आज कारोबार केही हदसम्म बढ्न पुगेको छ । तर शेयरबजारमा ४ अर्बमाथिको कारोबार भने सन्तोषजनक पक्कै छैन । अघिल्लो केही महिनाहरुमा १० अर्बमाथिको कारोबार हुने शेयरबजारमा पछिल्लो केही दिनयता ५ अर्ब तल कारोबार सीमित हुन पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज अन्य समूह बाहेकका सबै समूह राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समूहको ३६७ रुपैयाँ र निर्जीबी बीमा समूहको २८० रुपैयाँले घट्न पुगेको छ ।