शेयर बजारमा राष्ट्र बैंकको थप कडाई, आईतबारबाट के होला शेयर बजार ?

७ फाल्गुन २०७८, शनिबार २१:३३

समाचार विश्लेषण

नेपाल राष्ट्र बैंकले चालु आवको अर्धबार्षिक मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजार, घरजग्गा, व्यक्तिगत ओभरड्राफ्ट कर्जा लगायतका कर्जाहरुमा थप कडाई गर्ने नीति सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकको उक्त नीति सार्वजनिक भएसँगै शेयर बजारमा भने व्यापक होहल्ला र चर्चा परिचर्चा भइरहेको छ । हाल ४–१२ को सीमा लागू भरहेको अवस्थामा केन्द्रीय बैंकको नयाँ नियमले शेयर बजारमा थप आतंकित पारेको हो । समाजवादी अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई समाजवादी दृष्टिबाट हेरेको भएपनि हालसम्म शेयर बजारमा ठूलो भिन्नता आएको छैन । उनकै पालामा ३२०० को ऐतिहासिक रेडर्क कायम गरेको नेप्सेले यही बीचमा २२०० बिन्दुमा पुगेर फर्किसकेको अवस्था छ ।

अहिले जबरजस्ती शेयर बजार घटाउन चाहने तत्वहरुले अनेकन बाहाना बनाएर बजारलाई आतंकित बनाउने र शेयर बजारमा उच्च गिरावट ल्याउने काम गरिरहेका छन् । त्यसैले आइतबार बजार खुल्नु अघि एकाथरी मानिसहरुले शेयर बजारबारे अनेकन हल्लाहरु गरेर घटाउन उद्यत हुनेछन् । झन् केन्द्रीय बैंकले शेयर धितोमा कडाई गर्ने निर्णयले शेयर लगानीकर्ताहरुले अत्तालिएर सस्तो शेयर बिक्री गर्दा बजारमा पहिरो जाने सम्भावना छ ।

अझ कतिपयले त व्यक्तिगत रुपमा ओभरड्राफ्ट कर्जा समेत लिएर शेयरमा लगानी गरेका छन् । यसले लगानीकर्ताहरुलाई केही चिन्तित त पक्कै बनाउने नै छ । तर, लगानीकर्ताहरु खास अत्तालिनुपर्ने खास कारण भने छैन । यसअघि नै ४–१२ को सीमा लागू गरिसकेको र शेयर कल मार्जिन १८० दिनको गणना गर्ने गरिएका कारण सामान्य प्रतिशत तलमाथि पार्दैमा खासै अत्तालिनुपर्ने कुनै कारण भने देखिदैन । केन्द्रीय बैंकले घरजग्गासँगै शेयरधितो कर्जा र व्यक्तिगत ओडीलाई नियन्त्रण गरेर अनुत्पादक क्षेत्रको कर्जा घटाउने नीति लिएकोले अत्तालिनुपर्ने अवस्था भने छैन ।

आइतबारको बजार निकै संवेदनशील हुनेछ । आम लगानीकर्ता र सचेत लगानीकर्ताहरुले बजारमा ह्वात्तै घटाउन चाहनेहरुलाई काउन्टर दिन समेत आवश्यक छ । देशको आर्थिक अवस्थामा आएको संकट इत्यादि कारणबाट प्राकृतिक रुपमा विस्तारै घट्नुलाई मान्न सकिए पनि केन्द्रीय बैंकको नीतिकै कारण ह्वात्तै शेयर बजारमा गिरावट ल्याउने तत्वहरुबाट शेयर बजारलाई सुरक्षित राख्न आवश्यक छ ।

शेयर बजारको स्थायीत्व र शेयरको मूल्यमा चलखेल हुन नदिन सार्थक पहल गर्न, माफियाहरुको हस्तक्षेप हुन नदिन आम लगानीकर्ताहरुले एकजुट भएर अघि बढ्न आवश्यक छ । अकारण शेयरको मूल्य घट्दैछ भनेर सस्तोमा बिक्री गर्न लगाउने तत्वहरु र अकारण शेयर चम्कियो भन्दै उछाल ल्याउने तत्वहरुबाट शेयर बजारलाई सुरक्षित राख्न सामूहिक पहलको खाँचो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*