फागुन ११ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको नेष्डो समृद्ध लघुवित्तको यस्तो छ वित्तीय अवस्था

५ फाल्गुन २०७८, बिहीबार १२:३४

काठमाडौं । फागुन ११ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य गिरावट आएको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा संस्थाको खुद नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा १८.८७ प्रतिशतले कमी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले १३ करोड २३ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साथै दोस्रो त्रैमाससम्ममा संस्था खुद ब्याज आम्दानी र संचालन मुनाफामा समेत सामान्य गिरावट आएको छ । जसकारण संस्थाको खुद नाफा घट्न पुगेको हो ।

यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी १९ प्रतिशतले घटेर १८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो आम्दानी २३ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, संचालन मुनाफा पनि गत आवको पुष मसान्तसम्ममा २१ करोड १ लाख रुपैयाँ रहेकोमा यस अवधिसम्म १८.८७ प्रतिशतले घटेर १७ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

संस्थाले समिक्षा अवधिसम्ममा २ अर्ब ३७ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३३ करोड ३४ लाख ३९ हजार रुपैयाँ सापटी लिई ४ अर्ब २१ करोड ७३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा संस्थाको चुक्तापूँजी १७ करोड २१ लाख रुपैयाँ रहेको छ भने संस्थाले जगेडा कोषको आकार बढाएर कोषमा ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ संचित गर्न सफल भएको छ । त्यस्तै, यस अवधिसम्ममा संस्थाको खराब कर्जा बढेर ६.०९%, कस्ट अफ फण्ड ११.३४% र एनपिएल १७०.४४% रहेको छ ।

संस्थाले यहि फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्दैछ ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आइपिओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन । आइपिओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*